Logo

समाचार

ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेशन र एम्बेडेड फाइनान्समा साझेदारी



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडलहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले डिजिटल ट्रान्सफरमेशन र वित्तीय सेवाको नविकरणमा सहकार्य गर्ने छ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका एशिया र प्यासिफिक रिजनल इन्डस्ट्रि डाइरेक्टर एलेन फोर्लेमुले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार, आईएफसीले ग्लोबल आइएमई बैंकलाई डिजिटल बैंकिङका क्षेत्रहरूमा सुधारका लागि रणनीतिक सुझाव दिनेछ। यसमा बैंकको डिजिटल रुपान्तरण र डाटा म्याच्युरिटि मूल्याङ्कन गरी सुधार गर्न आवश्यक क्षेत्रहरू पहिचान गर्ने कार्य पनि समावेश हुनेछ। साथै, आईएफसीले फिनटेकका सम्भाव्यता अध्ययन गरी एम्बेडेड फाइनान्स मोडेलको प्रवर्द्धनमा पनि सल्लाह दिनेछ।

ग्लोबल आइएमई बैंकले यो सम्झौतासँगै ग्राहकलाई नवीनतम र प्रविधीमैत्री बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले भन्नुभयो, “आईएफसीसँगको यो साझेदारीले नेपालका बैंकिङ क्षेत्रमा नयाँ उचाइमा पुर्याउने छ र डिजिटल बैंकिङ र फिनटेकको क्षेत्रमा नया विकास र प्रयोग गर्न सहयोग पुर्याउने छ।”

ग्लोबल आइएमई बैंकले हालसम्म ३५५ शाखा कार्यालय, ३८५ एटीएम र १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत देशभरि सेवा प्रदान गर्दै आएको छ। यस बैंकले विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

यस सम्झौतामा सहयोग पुर्याउने आईएफसी, विश्व बैंक समूहको सदस्य संस्था हो, जसले विकासशील राष्ट्रहरूमा आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको लागि काम गर्छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ८ : ०८ बजे