सिराहा । सिरहाको गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर रहेको स्थानीयहरुले दुखेसो गरेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारमा निरीक्षक गोबिन्द प्रसाद साहको नेतृत्वमा ४०–४५ जना सुरक्षाकर्मी कार्यरत भए पनि बजार क्षेत्रमा सुरक्षा प्रभावकारिता न्यून रहेको स्थानीयहरूको आरोप छ ।
हालै अवैध रूपमा भन्सार छल्ने गरी मोबाइल कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाले छापा मारी अन्दाजी चारदेखि पाँच लाख मूल्य बराबरको मोबाइलसहित पिन्टु अन्सारीलाई पक्राउ गरेपनि थप कारवाहीको प्रक्रिया अघि नबढाइएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार प्रहरी निरीक्षक साहको कार्यकालमा चोरी, डकैती, तस्करी, लागूऔषध कारोबारजस्ता आपराधिक गतिविधि झन् बढ्दै गएको स्थानीयको भनाइ छ ।
साहकै कारण गोलबजार प्रहरीको कार्यक्षमतामाथि नै प्रश्न उठ्दै आएको छ । प्रहरी निरीक्षक साहको नेतृत्वमा अवैध कारोबार नियन्त्रणमा प्रभावकारी कदम नचालिएको आरोप छ ।
विगतमा पनि जिल्ला प्रहरी कार्यालय सिरहाले गोलबजार क्षेत्रमा पटक–पटक छापा मारी अवैध कारोबारीहरूलाई पक्राउ गरिसकेको भएपनि थप कारवाही नभएको आरोप लाग्दै आएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारमा वर्षौंदेखि उजुरी शाखामा कार्यरत प्रहरी हवलदार आनन्द कुमार यादवको दरबन्दी कोशी प्रदेशमा रहे पनि उनी पाँच वर्षदेखि गोलबजारमै रहनुलाई आशंकाको दृष्टिले हेर्ने गरिएको छ ।
प्रहरी संगठनभित्रको स्थानान्तरण प्रक्रियालाई अवज्ञा गर्दै यादवले विभिन्न बहानामा आफ्नो पद सुरक्षित राखेको स्थानीयको आरोप छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले कोशी प्रदेश दरबन्दी भएका सुरक्षाकर्मीहरूलाई स्थानान्तरण आदेश दिए पनि यादव भने स्वास्थ्य समस्याको बहाना बनाएर गोलबजारमै बस्नुलाई शंकाको दृष्टिले हेरिएको छ ।
यस विषयमा प्रतिक्रिया लिन इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक साहलाई सम्पर्क गर्दा, कार्यालयको आधिकारिक मोबाइल नम्बर ९८५२८९०३५० मा फोन गरे पनि फोन उठाएनन् ।
स्थानीय बासिन्दाहरूले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै अपराध न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन जिल्ला प्रहरी कार्यालयले गम्भीर रूपमा ध्यान दिनुपर्ने उनीहरूको माग छ ।
गोलबजारमा मदिरा पसलहरु राती १२ बजेसम्म खुल्ला रहनुलाई प्रहरीकै मिलेमतो रहेको आशंका पनि गरिएको छ ।
प्रतिक्रिया