काठमाडौं । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् । राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कार्वाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।
प्रतिक्रिया