Logo

मुख्य समाचार

प्रधानमन्त्री कार्यालयको मूल्यांकनप्रति मन्त्री दाहालको असन्तुष्टि


९ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयले काम नै नगरेको भन्ने कुरा सही नभएको बताएका छन् ।

शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय÷आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को बारेमा छलफलमा उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा सुधार गर्नुपर्ने भन्दै एउटा योजनालाई हेरेर काम थोरै भयो भन्नु बेठिक भएको बताए ।

उनले भने, ‘हाम्रो प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा पनि अलिकति सुधार गर्नुपर्छ । त्यो पनि हामी सुझाव दिन्छौ । किनभने प्राविधिक तरिकाको मूल्यांकनले कुनैपनि कुराहरु हुदैँन् । जम्मा १९ वटा क्रियाकलाप मध्ये ८ वटा सुरु हुन लागेका छन्, तीन वटा सम्पन्न भए र ८ वटा चालू छन् । १९ वटामा ११ वटाको काम भएको छ भनेपछि त यसबीचमा लगभग ५७ प्रतिशत काम भएको थियो । समग्रलाई हेरेर महिना महिनामा निकाल्ने हो रहेछ । हरेक महिना काम भएको छ र काम हुने सन्दर्भमा प्रगति बढ्दै जान्छ । तर कुनै एउटा योजनालाई हेरेर काम थोरै भयो भन्नु बेठिक हो ।’

यसको साथै, उनले मन्त्रालयबाट भएका कामहरुको विवरण प्रस्तुत गर्दै अवधीभित्र काम सकाउन नसक्नु भने कमजोरी भएको बताए ।

उनले भने, ‘ग्वार्को फ्लाईओभरको ८२ प्रतिशत काम भएको छ । माघ मसान्तसम्म काम सम्पन्न गर्न नसकेको हो । तर यसमा काम जिरो प्रतिशत भएको छ भन्ने होइन नि । त्यसैगरि सिद्धबाबा सुरुङ्मार्ग ११ सय २६ मिटर खन्ने काम सम्पन्न भएको छ । मध्यपहाडी, हुलाकी राजमार्ग, कालीगण्डकी करिडोर विभिन्न खण्डमा ५६ किलो मिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको रहेछ । ७८.५ किमी सम्पन्न भएको रहेछ । माघ १७ सम्ममा ३७ वटा सडक, पुल बनाउने भन्ने लक्ष्य राखेको रहेछ । त्यसमा ४१ वटा सम्पन्न भएको रहेछ । भनेपछि यसरी धेरै धेरै कामहरु पनि भएका छन् ।’

मन्त्रालयले धेरै कामहरु गरेको र काम गर्ने प्रयास गरेको भन्दै हतारमा होईन अध्ययन गरेर मात्र मूल्यांकन गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘एक दुईवटा कुरा स्वीकार गर्छौ । त्यसमा स्मार्ट लाईसेन्स् नौं लाख छापेर दिने भनेका रहेछौ तर त्यसमा १ लाख ६९ हजार ४ सय ३९ वटा मात्र दिन सकेको रहेछौ । यसमा कमजोरी भएको छ । काम गर्ने प्रयास गरेका छौ । मुग्लिन पोखरा जाने हो भने हामीलाई धन्यवाद दिनुपर्छ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : ३३ बजे