Logo

धर्म / संस्कृति

फागुन १० गतेदेखि  ‘स्वयम्भू महोत्सव’ आयोजना हुने


८ फाल्गुन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ को आयोजनामा फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वडाले प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, बिहारसहितका प्राचीन स्मारकहरुको विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्ने र पर्यटकीय सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो ।

वडाले उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम दिएका व्यक्ति तथा संघसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादनहरु तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन तथा भेषभुषाको प्रवर्धन हुने विश्वास छ ।

स्वयम्भूको भुइँखेल चौरमा महोत्सव हुनेछ । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ ।

महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ । परम्परागत बाजा, वडावासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसंग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रुपमा रहनेछन् ।

महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुनेछन् । पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन् ।

नेवार समुदायको बाहुल्यता भएको वडामा आर्य, तामाङ, गुरुङ, मगरसहित विभिन्न जातजातिको मिश्रित बसोबास छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ४ : १७ बजे