Logo

Breaking News 1

‘नेपालमा क्रिसमसको अर्थ नै नबुझी मनाउने गरेको पाइन्छ’



बाइबलमा येशू ख्रिस्टको जन्म मितिबारे कुनै निश्चित तारिख कहीँकतै लिपिबद्ध भएको छैन । तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन् ।
डा.बालकृष्ण शर्मा
अध्येता


काठमाडौं । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबैभन्दा पहिले ईसापूर्व ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवसका अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् ।

बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको छैन तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेको क्रिष्टियन धर्मबारेका अध्येता डा. बालकृष्ण शर्मा बताउँछन् । उनले क्रिसमस भन्ने शब्दले ख्रिस्ट भन्ने शब्दलाई बुझाउने गरेको बताए ।

उनले भने, ‘क्रिसमस भन्ने जो शब्द हामी प्रयोग गर्छौं, यसले चाँही ख्रिस्ट भन्ने शब्दलाई सम्बोधन गर्छ । ख्रिस्ट शब्द बाइबलमा उल्लेख छ । बाइबल हाम्रा निम्ति संसारमा मानव बनेर आउनुभयो । हाम्रो उद्धारकर्ताको रुपमा आउनुभयो र उहाँलाई येशुख्रिस्ट भनेर पनि सम्बोधन गर्छौं । क्रिसमस ख्रिस्टसँग सम्बन्धित छ । बाइबलमा पनि येसुख्रिस्टको बारेमा धेरै कुरा बताइएको छ । बाइबलमा येसु ख्रिस्टको जन्म मितिबारे कुनै निश्चित तारिख कहीँकतै लिपिबद्ध भएको छैन् । तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन ।’

यसैगरी उनले येसु ख्रिस्ट संसारमा मानव जातिलाई पापबाट उद्धार गर्नको लागि आउनुभएको बताए । उनले आज भन्दा इ.सं २०२४ वर्ष अगाडि येसु ख्रिस्टकै नामबाट इ.सं स्थापित भएको समेत बताए । ‘संसारमा मानव जातिलाई पापबाट उद्धार गर्नको लागि येसु ख्रिस्ट आउनुभयो । आज भन्दा २०२४ वर्ष अगाडि । जसलाई हामी इ.सं भन्छौं । येसु ख्रिस्टकै नामबाट स्थापित समंवद्ध हो । तर हामीले बाइबललाई हेरौं भनेपनि दुई भागमा विभाजन भएको छ । एउटा पूरानो करार भन्छौं जुन येसु आउनुभन्दा अगाडि र अर्को नयाँ करार येसु आउनु भएपछिको हो, उनी भन्छन् ‘येसु ख्रिस्ट अन्नतदेखि हुनुहुन्छ भन्ने बाइबलको मान्यता छ । ’

यसैगरी क्रिसमसको मुख्य उद्देश्य भनेको नै मानव जातिलाई उद्धारका रुपमा घोषणा गरिएको दिनका रुपमा बुझ्नुपर्छ । शर्माका अनुसार सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जो व्यक्तिहरुसँग परमेश्वर प्रसन्न हुनुहुन्छ तीनिहरुलाई शान्ति दिन येसु आउनु भएको बताए । उनले ‘क्रिसमस डे’ लाई ऐतिहासिक रुपमा हेर्दा डिसेम्बर २५ तारिखका दिन उत्सव गरेर मनाइने गरिएको बताए । शर्माले अगाडिकै दिनहरुबाट, हप्ताहरुबाट पनि क्रिसमसको गीतहरु गाएर संसारभरी नै मनाइने चलन रहेको बताए ।

उनले भने, ‘क्रिसमसको गीत भन्नाले येसु संसारमा आउनु भएको बारेमा मानिसलाई बताउनका लागि, घोषणा गर्नका लागि र नेपालमा सन्र्दभमा हेर्नुभयो भनेपनि विभिन्न चर्चहरुमा क्रिसमसका गीतहरु गाउने चलन छ जसलाई हामी क्यारल भनेर पनि भन्छौं ।’

उनले क्रिसमसका अवसरमा कुनै विशेष परिकार वा विशेष खाना यो भनेर नतोकिएको बताए । उनले हरेक क्रिष्टियनले क्रिसमस रमाइलो गरेर या खुसी साटेर मनाएपनि येसु ख्रिस्ट संसारमा आउनुको महत्वलाई मानिसको पाप क्षमा गर्नको लागि आएको कुरा भूल्न नहुने बताए ।

उनले भने, ‘क्रिसमसका जो अभिव्यक्ति छन्, खुसीयालीका कुराहरु छन् । हरेक व्यक्तिले चाँही यो पनि बुझ्नुपर्दछ की येसु ख्रिस्ट संसारमा मानिसको पाप क्षमा गर्नको लागि आउनु भएको कुरा भूल्नु हुँदैन । येसु ख्रिस्ट पापको निम्ती पुसमा मर्नु भएको र तेस्रो दिनमा बौरिएर उठ्नु भएको कुरा पनि जोडिन्छ ।’

यसैगरी उनले क्रिसमस बुझेर मनाउने क्रिष्टियन र नबुझेर मनाउने क्रिष्टियनहरु समेत भएको बताए । उनले क्रिसमसको अर्थ नामधारी क्रिष्टियनहरुले नबुझेर समेत मनाउने गरेको बताए । शर्माले क्रिसमसले जहिले पनि येसु ख्रिस्टले दिनुपर्ने मुक्तिलाई सम्बोधन गर्दै आएको बताए ।

उनले भने, ‘अब क्रिसमस संसारमा कसैले बुझेर त कसैले नबुझेर समेत मनाउने गरेको पाइन्छ । तर यसमा पनि क्रिसमस बुझेर मनाउने क्रिष्टियन र नबुझेर मनाउने क्रिष्टियनहरु पनि छन् । यसमा पनि नामधारी क्रिष्टियनहरुले बुझ्छन् कि बुझ्दैनन् होला । क्रिसमस मनाउनु भनेको येसु ख्रिस्ट मुक्तिदाताका रुपमा आउनु भएको छ भन्ने बुझ्नु हो । अब चाडपर्वका रुपमा विभिन्न व्यक्तिहरुले यसलाई मनाउँछन् । यो मनाउने कुरा आफैंमा गल्ती होइन, किनभने यो उत्सवको समय पनि हो ।’

यसैबीच उनले उत्सव हो भन्दैमा क्रिसमस किन मनाइन्छ ? भनेर एकचोटी सोचेर मात्र मनाउन अनुरोध गरे । क्रिसमस हरेकले मनाउन मिल्छ तर मनाउनका लागि विचार गरेर र क्रिसमसको अर्थ बुझेर र येसुको उद्देश्य के हो त्यो थाहा पाएर मात्र मनाउन उनको अनुरोध छ ।

उनले चर्चमा मनाइने क्रिसमस र विभिन्न ठाउँमा मनाइने क्रिसमसमा निकै भिन्नता रहेको बताए । उनले चर्चभित्र सामूहिक रुपमा अरु व्यक्ति पनि आएर उत्सव मनाउने तथा आराधान गरेर मनाइने गरिएको बताए । डिसेम्बर महिना सुरु हुँदै इसाई अनुयायीहरू क्रिसमसका लागि तयारीमा जुट्ने तथा यस पर्वमा मानिसहरू आफ्नो घर सुन्दर तरिकाले सजाउने र मण्डली (चर्च) मा गएर प्रभु येसुको यादमा प्रार्थना गर्ने अनि मैनबत्ती बाल्ने गरेको बताए ।

घर र चर्चमा क्रिसमस ट्री सजाएर केक काट्ने चलन यस पर्वमा महत्त्वपूर्ण मानिन्छ । यसका साथै क्रिसमसका दिनमा बालबालिकाहरू सान्ता क्लाजको प्रतीक्षामा बस्ने र उपहार लिने गर्दछन् । यसको मान्यता के छ भने रातो कपडा र सेतो दाह्रीमा सान्ता क्लाज स्वर्गबाट आउने र मानिसहरूलाई उपहार दिएर जाने चलन विश्वासीहरू भित्र रहेको उनको भनाइ छ ।

यसैगरी शर्माले बाहिर मनाइने क्रिसमसमा धेरै जनाले एउटा चाडको रुपमा मनाउने तर त्यसको अर्थ चाँही बुझेको नभेटेको बताए । जसमा यस दिन अन्य धर्मका मानिसहरू पनि मैनबत्ती जलाएर प्रार्थना गर्ने, ताराहरुसँग जोडेर उत्सव मनाउने गरिएको उनको भनाइ छ ।

उनले पछिल्लो समय फेसनको रुपमा क्रिसमस मनाइने गरिएको बताए । उनले फेसनको रुपमा नभइ यसको गहिराइमा गएर बुझेर मात्र मनाउनुपर्ने अवस्था रहेको बताए । यस पर्वमा क्रिसमस ट्रीको समेत विशेष महत्व रहेको उनले बताए । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यसबेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् । (डा.शर्मासँग कुराकानीमा आधारित)

आकांक्षा धामी / नेपाल न्यूज बैंक

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ३३ बजे