काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ४६ रनको अग्रता लिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारत जम्मा १५० रनमा समेटिएको थियो ।
भारतलाई सस्तैमा समेटर आफ्नो पहिलो पारि पहिलो दिन नै सुरु गरेको अस्ट्रेलिया दोस्रो दिनको पहिलो सेसनमै १०४ रनमा अलआउट हुँदा भारतले ४६ रनको अग्रता लिएको थियो ।
पहिलो दिन नै १७ विकेट गुमेको थियो । भारतका १० विकेट गुम्दा अस्ट्रेलियाले पहिलो दिन ७ विकेट गुमाएर ६७ रन बनाएको थियो । दोस्रो दिन ३७ रन बनाउँदा बाँकी ३ विकेट गुमाउन पुग्यो ।
अस्ट्रेलियालाई सस्तैमा आउट गर्ने क्रममा भारतका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा हर्सित रानाले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाउँदा विकेटकिपर ब्याटर एलेक्स केरीले २१ रन जोडे । यसैगरी ट्राभिस हेड ११ र नाथन म्याकस्वेनीले १० रनमात्र बनाए ।
पहिलो पारिमा भारतका नितिश कुमारले ४१ रन बनाउँदा रिसभ पन्तले ३७ रनको पारि खेले । केएल राहुलको ब्याटबाट २६ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो ।
अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिँदा पाट कमिन्स, मिचेल स्टार्क र मिचेल मार्सले दुई दुई विकेट लिएका थिए । यो ५ खेलको टेस्ट सिरिज हो । टेस्ट च्याम्पियनसिपको लागि भारत र अस्ट्रेलिया दुवैलाई यो सिरिज महत्त्वपूर्ण रहेको छ ।
प्रतिक्रिया