Logo

खेलकुद

पोर्चुगललाई हराउँदै फ्रान्स युरोको सेमिफाइनलमा



काठमाडौं । दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ । युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दावेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एम्बाप्पेको फ्रान्स भिडेका थिए । तर, पेनाल्टी सुटआउटमा फ्रान्सले ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

शुक्रबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले गोलको खडेरी तोड्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । जसमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५–३ ले विजयी भयो । फ्रान्सका ओस्मन डेम्बेले, युसुफ फोफाना, जुलेस कुन्डे, ब्राड्ली बारकोला र थियो हर्नान्ड सबैले गोल गरेका थिए ।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो, बनान्डो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जाओ फ्लेक्सको प्रहार बारमा लागेर बाहिरिँदा टिम नै प्रतियोगिताबाट बाहिर पुग्यो । अब सेमिफाइनलमा फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । स्पेनले घरेलु टोली जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ७ : २७ बजे