Logo

समाचार

रुसी सेनामा नेपाली युवा प्रसंगः ‘सरकारले वेवास्ता गरे फेरि आमरण अनशन’



तपाईंहरुले ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ नाम दिएर निरन्तरजसो धर्ना लगायतका कार्यक्रमहरु गर्दै आउनुभएको छ । अभियान के का लागि ?

रुसमा रहेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउनका लागि कुटनीतिक प्रयत्न गर्न हामीले अभियान सञ्चालन गरेका हौं । रुसले नेपाली मात्रै नभर अन्य देशका नागरिकहरुलाई आफ्नो सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको छ । आफ्नो सुरक्षा कवचलाई रुसले सहजै पठाउँदैन भन्नेमा हामी ढुक्क छौं । यद्यपी राज्यले नागरिकको जीवन रक्षाको सन्दर्भमा सबै किसिमका कुटनीतिक प्रयत्न गर्नुपर्यो भन्ने हाम्रो माग हो । हाम्रा कुरा रुसले सुन्दैन भने पनि रुससँग कुटनीतिक सम्बन्ध राम्रा भएका राष्ट्रसँग आग्रह गरेर सबै काम छोडेर नागरिकको जीवन रक्षाको लागि सबै काम छोडेर भएपनि  सरकारले यो विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो । त्यो अनुभूति नभएरै हामीले आन्दोलन गरेका हौं, आन्दोलन गर्नुपर्ने विषय नै होइन नि यो । यतिका मानिसको परिवारसँग भेटेर रुसमा रहेका नागरिकको विवरण संकलन गरेर हामीले बुझाएका छौं । तर सरकारले आफ्नो कमिकमजोरी र त्रुटी लुकाउन उल्टो हामीलाई नै अमानवीय व्यवहार गर्नु गलत छ । यो विषय अवैधानिक रुपमै गएका भएपनि ती राज्यले नै अवसर दिन नसक्दा कामको लागि युद्धग्रस्त देशमा पुगेका हुन् । ती नागरिकको अन्तिम अभिभावक राज्य हो र उनीहरुको जीवन रक्षा गर्ने न्युनतम दायित्व पनि राज्यकै हो । त्यो दायित्वबाट पन्छिन खोजिरहेको अनुभूति हामीलाई भएकै कारण राज्यलाई उसकै जिम्मेवारी बोध गराउन बाध्य भयौं ।

मंगलबार मात्रै रुसमा रहेका नागरिकलाई स्वदेश फर्काउन उच्च स्तरमा कुटनीतिक पहल गर्छु भनेर प्रधानमन्त्रीले भनिरहँदा तपाईंले राज्यले कुटनीतिक पहल नै राम्रोसँग गरेन भने जस्तो गर्नुभयो नि त्यो किन ?

रुसमा पुग्ने नेपाली जतिपनि हुनुहुन्छ उहाँहरु राज्यको लागि केही संख्याको नागरिक मात्रै होलान् तर परिवारको लागि त त्यो व्यक्ति विश्व ब्रमाण्ड नै हो नि । मानौं युद्धमा एक नेपालीले मृत्यु भयो रे यहाँ रहेको सानो बालकले बावु गुमाएपछि त्यो फर्केर आउँदैन नि ! त्यो श्रीमतीको श्रीमान, त्यो आमाको छोरो फर्केर आउँदैन । राज्यको लागि उ नागरिक हो तर परिवारको लागि उ नै ब्रमाण्ड हो नि । त्यसैले यो विषयको संवेदनशीलता र गाम्भीर्यलाई राज्यले बुझ्नुपर्छ । कुन राष्ट्रसँग हाम्रो कुटनीतिक सम्बन्धन राम्रो छ राज्यले उ मार्फत पनि आग्रह गरी पहल गर्नुपर्छ । राज्यले आफ्नो नागरिकको जीवन रक्षाको सन्दर्भमा आफूसँग भएका स्रोत, साधन र शक्ति सबैको प्रयोग गर्नुपर्छ, हाम्रो माग नै यही हो ।

प्रधानमन्त्रीसँग भेटपछि त्यहीबाट धर्ना रोक्ने निणर्य यहाँहरुले गर्नुभयो । अभियानका तर्फबाट राखेको माग सम्बोधन हुने वातावरण देखेर हो ? के भन्नुभयो प्रधानमन्त्रीले ?

हामीले १३ बुँदे माग सहित १७ दिन त निरन्तर सडक संघर्ष गर्यौं । त्यसपछि पनि धर्ना लगायतका कार्यक्रमहरु निरन्तरजसो नै गरेका हौं । सिंहदरबार र बालुवाटारको बीचमा १७ दिनसम्म आमरण अनसन बस्दा समेत राज्य बेखबर भयो । राज्यलाई विश्वास गर्ने कि नगर्ने ? राज्यलाई विश्वास नगर्नुको विकल्प पनि हामीसँग छैन । प्रधानमन्त्रीको प्रतिबद्धतापछि पनि राज्यले ती नागरिकहरुलाई तुरुन्तै उद्दार गरेर नेपाल ल्याउँछ भन्नेमा मलाई विश्वास लाग्दैन, यद्यपी राज्यले निरन्तर कोशिशचाँही गर्नुपर्छ । अनसनका क्रममा हामीमाथि नै प्रहरीद्धारा जुन व्यवहार गराइयो हाम्रै जीवन रक्षाको लागि राज्य संवेदनशील नहँुदै गर्दा राज्यले रुसमा रहेका नागरिकको रक्षा तत्काल गर्छ भन्ने लाग्दैन । अहिले प्रधानमन्त्री स्वयंमले हाम्रो मागको सम्बोधन गर्ने भनेर अनसन स्थगित गर्न गरेको आग्रहले स्थगित गरेका छौं । हाम्रा माग सम्बोधन गर्न राज्यलाई एक दुई दिनको समय दिएर हेर्छौं, दुई दिनभित्र हाम्रा माग राज्यबाट सम्बोधन भएनन् भने आमरण अनसनलाई निरन्तरता दिन्छौं ।

तपाईंले अभियान नै सञ्चालन गरेर रुसमा पुग्ने नेपालीको परिवारसँग विवरणहरु संकलन गर्नुभएको छ, परिवारका सदस्यले कस्ता गुनासा धेरै सुनाउँछन् ? आफन्तको खोजिका लागि आउनेको अवस्था कस्तो पाउनुहुन्छ

परिवार र आफन्तको अवस्था मर्नु न बाँच्नुको बीचको परिस्थिति भोगिरहेका छन् । कतिसम्म भने यता परिवारलाई उताका रुसी सैनिकका कमाण्डर वा साथिले तिम्रो मान्छे मरिसक्यो भनिदिएको छ, तर उसको मृत्यु भएको कुनै प्रमाण दिँदैनन्, फोटो हेर्नलाई यहाँ परिवार र आफन्त तड्पिएका छन् । कतिपयलाई तिम्रो मान्छेको मृत्यु भयो मात्रै भनेर सूचना दिएका छन् यहाँ आफन्त र परिवारले त्यसको पुष्टि गर्ने आधार पाइन्छ कि भनेर सकेजति प्रयाश गरिरहेका छन् । लामो समयबाट आफन्तको सम्पर्कमा नआएकाको परिवार पनि पीडाले विछिप्त छन । युछमा अंगभंग भएकाको परिवार पनि छुट्टै तनावमा छन् । धेरै पीडाहरु भएका परिवार र आफन्तहरु हामीकहाँ आएका छन् ।

तपाईंहरुले जसरी अभियानलाई अगाडि बढाउनुभयो त्यसमा केही राजनीतिक दल र संघसंस्थाको प्रभाव छ भनेर सुनिन्छ नि ? आन्दोलन रोक्ने दबाब वा प्रभाव केही छ कतैबाट ?

कुनै पनि राजनीतिक दलको संलग्नता यसमा छैन । तपाईं देख्न सक्नुहुन्छ, कुनै पनि दलले हामीलाई औपचारिक रुपमा समर्थन गरेको छैन । त्यतिका दिन अनसन बस्दा समेत कोही हाम्रो अभियानमा ऐक्बद्धता जनाउन आएनन् । हामी सडकमा आम पीडित नागरिकका समस्या बोकेर एक्लै नै बसेका थियौं, राजनीतिक दलका मान्छे वा उच्च ओहदामा आसिन कुनै व्यक्तिले पनि हामीले उठाएको विषयलाई खासै चासो नदिएको, बरु यिनीहरुलाई हामीले साथ दिए के फाइदा हुन्छ र भन्ने हिसाबले हेरेको हामीले अनुभूत गरेका छौं । कुनै पनि राजनीतिक दल वा अन्तर्राष्ट्रिय शक्तिहरुको दबाब वा प्रभाव केही छैन । प्रधानमन्त्री कार्यालयबाटै हाम्रो मागको विषयमा सम्बोधन गर्ने भनेर अनसन रोक्न आग्रह आएपछि प्रधानमन्त्रीलाई नै विश्वास नगरे कसलाई गर्ने भनेर स्वविवेकले, सबै बसेर छलफल गरी प्रधानमन्त्रीसँग वार्ता गरौं भन्ने निर्णय गरेका हौं । हाम्रो अनसनबारे मानवअधिकार आयोगले एकचोटी स्थलगत अवलोकन गरेर विज्ञप्ति जारी गरेको छ अरु कुनै दूतावास वा सरकार गैर सरकारी संघसंस्थाले हामीलाई औपचारिक वा अनौपचारिक कुनै रुपले सम्पर्क गरेको छैन । रुसी राजदूतलाई हामीले समसामयिक समस्या राखेर पटक पटक पत्र पठायौं, दूतावास अगाडि धर्ना, प्रदर्शन पनि गर्यौं, आफ्ना मान्छेको अवस्था जानकारी गराउन, मृतकको शव नेपाल ल्याउन समन्वयनको लागि आग्रह गर्यौं कुनै पनि कुराको सुनुवाई दूतावासबाट भएन ।

सरकारले आफ्ना नागरिकको अवस्थाबारे चासो दिएर रुसको सरोकारवाला निकायसँग पहल गरिरहेको र हिजो पनि प्रधानमन्त्रीले उच्च नेतृत्व लेवलबाटै पहल गर्ने प्रतिबद्धता गरे । अब नेपाली नागरिकलाई स्वदेश फर्काउन सम्भव होला ? सरकारप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?

रुसले सुरक्षा कवचको रुपमा नेपालीलाई प्रयोग गरिरहेको छ, उनीहरुको उद्दार पक्कै पनि सरकारका लागि समेत सहज छैन । तर, असम्भव पनि छैन, समस्या सँगै समाधानको बाटो पनि त छन् । यसमा राज्य संवेदनशील भयो भने अवश्य उनीहरुलाई फर्काउन सक्छौं । हामीले आफ्नो अभियानबाट सात जनालाई स्वदेश फर्काउन सफल भएका छौं । प्रत्यक्ष रुपमा मसँग दुई हजार परिवारका आफन्तहरु रुसमा रहेका आफ्ना मानिसको अवस्थाबारे जानकारी दिँदै सम्पर्कमा आएका छन् । तर, अहिलेसम्म ६९१ जनाको व्यक्तिगत विवरण मैले उनीहरुको परिवासँग प्रत्यक्ष भेटेर संकलन गरेको छु । एउटा व्यक्तिको प्रयासले नागरिक स्वदेश फर्किएका छन्, यतिका विवरण संकलन गरेका छौं भने राज्यले चाहेमा असम्भव होला भन्ने लाग्दैन ।

तपाइँसँग सम्पर्कमा आएका रुसमा पुगेका नागरिक र नागरिकका परिवारले के अपेक्षा गरेका छन् ?

रुसी सेनामा पुगेका नेपाली र उनीहरुको परिवारको आ–आफ्नै प्रकृतिको समस्या र अपेक्षा छ । मृतकको परिवारको समस्या भनेकै शव नेपाल ल्याइदिन पर्यो भन्ने छ । मृतकका परिवारले पाउनुपर्ने क्षतिपूर्तिको कुरा छ, उता काम गर्ने सैनिकले पाउनुपर्ने तलब, सेवा सुविधाको कुरा छ, घाइतेका परिवारले उता भएका आफन्तलाई स्वदेश ल्याउन र यहाँ भएकाहरुको लागि उपचारका लागि पहल गरिदिनुपर्ने माग गरिरहेका छन् । रुसी सेनामा पुगेर परिवारको सम्पर्कमा नआएकाहरुका लागि भने परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । यस्ता विविध अपेक्षा पीडित र पीडित परिवारका छन् । तर, उनीहरु भने राज्यलाई विश्वास गर्न सक्ने अवस्थामा आफूहरु नभएको र मलाई नै पहलका लागि अनुरोध गरिरहेका छन् । समस्या अनुसारको अपेक्षा उहाँहरुको छ ।

प्रधानमन्त्रीसँग पनि तपाईंहरुले मंगलबार भेट गर्नुभयो । रुसी सेनामा आबद्ध व्यक्तिहरु र पीडित परिवारको समस्या समाधान गर्न सरकारलाई कति समय दिनुभएको छ ?

हामीले प्रधानमन्त्रीलाई पीडित परिवारको समस्यासँग जोडिएका विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएका छौं । त्यसमा सरकारलाई अल्टिमेटन भनेर दिएका छैनौं तर, हाम्रा जुन १३ बुँदे माग छन्, त्यो सम्बोधन नभए आमरण अनसनलाई निरन्तरता दिन्छौ भनेका छौं । अब हामी दुईदिन हेर्छौ त्यसपछि पनि सरकार हाम्रा मागप्रति संवेदनशील नभए आमरण अनसन फेरी शुरु गर्छौ । हामीसँग त सरकारको लागि समस्या समाधान गर्ने रुसमा रहेका नागरिको सबै विवरण छ, सरकारले त्यसलाई ग्रहण गरेर समस्या समाधानमा पहल गरोस भन्ने चाहना हाम्रो  हो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ४४ बजे