Logo

Breaking News 1

उपनिर्वाचन : आजदेखि मौन अवधि सुरू, यी कार्य गरे कारबाही 



काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघि राति १२ बजेदेखि मौन अवधि शुरू भएको हो ।

मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि जारी रहनेछ । निर्वाचन आयोगले यस अवधिमा सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठीलगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ गते उपचुनाव हुँदैछ । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ६ : ३६ बजे