Logo

राजनीति

एमालेले नाजायज ढंगले कुनैपनि अडान राख्दैन : ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

सोमवार ललितपुरको गोदावरीस्थीत सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताए । उनले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए । उनले सरकार र वर्तमान सत्तारुढ दलहरूले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताए ।

ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिर समेत गरे । उनले तत्काल वामपन्थीहरू एकता हुने अवस्था नरहेको पनि दोहोर्याए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : १४ बजे