Logo

निर्वाचन विशेष

इलाम २ मा एमाले सहज अवस्थामा छः सांसद महेश बस्नेत



यही वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छ । तीन दशकदेखि निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमाले यस पटक युवा र राजनीतिकै नयाँ अनुहारलाई उम्मेदवार बनाएर मैदानमा छ । एमाले उपाध्यक्ष दिवंगत नेता सुवास नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएर घरदैलो गरिरहेका बेला एमाले इलामका जिल्ला कमिटी अध्यक्ष एवम् निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतसँग हामीले चुनावी कुराकानी गरेका छौं :

एमालेबाट नयाँ र युवा उम्मेदवार लिएर तपाईंहरु मतदाताको घरदैलोमा हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौं । मतदाताहरु हाम्रो युवा उम्मेदवार सुहाङ नेम्बाङप्रति उत्साहित हुनुहुन्छ । युवा उम्मेदवारप्रति धेरै आशा र भरोसा गरेको पाएका छौं । सुहाङप्रति अत्यधिक क्रेज देखिन्छ ।

अहिलेको निर्वाचन विगतभन्दा फरक देखिन्छ । नयाँ बैकल्पिक शक्तिहरु र स्वतन्त्र उम्मेदवारहरु मैदानमा हुनुहुन्छ । कस्तो महसुश भइरहेको छ ?
हामीलाई नयाँ शक्ति वा उम्मेदवाहरुको कुनै किसिमको असहज र चुनौति छैन । हाम्रा सैद्धान्तिक मतदाता सुरक्षित छन् । मतदाता थपिएका छन् र मत बढेको अवस्था छ । प्रतिस्पर्धामा आएका उम्मेदवाहरुका कारण केही मत तलमाथि हुनु स्वाभाविक हो तर हामीलाई केही पनि समस्या छैन ।

इलाम २ मा विगतका निर्वाचनमा सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्थ्यो । अहिले उहाँका पुत्र सुहाङ नेम्बाङ उम्मेदवार हुनुहुन्छ, तपाईंहरुलाई कुनै असहज महशुस भएको छैन ?
पात्रप्रति वा उम्मेदवारप्रति केही विमती होला वा असन्तुष्टि होला तर राजनीति बुझेका मतदाताले आफ्नो सिद्धान्त छाडेका छैननन् । मतदाताले नयाँ नेता खोजेका छन्, युवा नेता खोजेका छन् । एमालेका मतदाता कहिल्यै विचलित हुँदैनन् । यसमा हामी ढुक्क छौं ।

तर मतदाताहरुमा पुराना दलहरुप्रति आक्रोश बढेको छ, भनिन्छ नि ।
यो बाहिर गरिने हल्ला मात्र हो । पुराना दलहरुप्रति विश्वास टुटेको छैन । एमालेप्रति अगाध विश्वास कायम छ । मैले अघि नै भने पात्रप्रति केही असहमति होला तर राजनीति बुझेका मतदाता पुराना दलहरुप्रति विश्वस्त हुनुहुन्छ । आफ्नो मूलधारलाई मतदाताले छाड्न सक्दैनन् ।

कोशी प्रदेश नामकरण विषयलाई लिएर पहिचानको मुद्दा पेचिलो देखिएको छ । पहिचानवादीका तर्फबाट उम्मेदवार मैदानमा हुनुहुन्छ । यसले एमालेलाई धेरै चुनौति छ भन्नेहरुलाई तपाइँसँग के जवाफ छ ?
पहिचानवादीहरुको हामीलाई कुनै चुनौति छैन । उहाँहरु शान्तिपूणर् राजनीतिमा आउनुभएको छ । पहिले उहाँहरु ढुंगामुडा गर्नुहुन्थ्यो, अवरोध गर्नुहुन्थ्यो, गाडी जलाउनुहुन्थ्यो, अशान्त ढंगले लाग्नुहुन्थ्यो । अहिले शान्तिपूणर् राजनीतिमा आउनुभएको छ । संविधान अन्तर्गत आएर शान्तिपूणर् प्रतिस्पर्धामा आउनु स्वागतयोग्य छ । उहाँहरु आफ्ना मुद्दाहरु स्थापित गर्न बल गरिरहनु भएको छ । कतिसम्म सफलता प्राप्त गर्नुपर्छ त्यो पछिको कुरा हो । उहाँहरुले केही मत प्राप्त त गर्नुहोला तर निर्णायक बन्न सक्नुहुन्न ।

तर कतिपयले त पहिचानवादीहरुको मुद्दालाई वेवास्ता गरिए जातीय द्वन्द निम्तिने आँकलन गरिरहेका छन नि । एमालेले उहाँहरुको मुद्दालाई कसरी हेरेको छ ?
कुनैपनि विचार आयो भन्दैमा त्यसलाई द्वदसँग तुलना गर्नुहुँदैन । नयाँ विचारहरु आउँदैमा त्यसलाई खराब ठान्नुहुँदैन । उहाँहरु विरोधका नाममा गैरकानुनी गतिविधिमा हुनुहुन्थ्यो अब शान्तिपूणर् प्रतिस्पर्धा आउनुभएको छ । यसले सबैलाई फाइदा गर्छ । सबै जाती, बर्ग, समुदाय वा लिङ्गका विषयमा एमाले सँधै उदार छ ।

एमालेको मुख्य प्रतिस्पर्धीलाई र हालको मतको अवस्थालाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
परम्परागत रुपमा भन्नुपर्दा हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो । यसपटक कांग्रेसको मत घटेको छ । हिजो गठबन्धनमा रहँदा राम्रो मत ल्याउनुभयो, अहिले त्यस्तो छैन । विगतको इक्वेसन हेरेर अहिले मूल्याकंन गर्न मिल्दैन । केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुमध्ये माओवादी केन्द्रलगायतका केही दल हामीसँग हुनुहुन्छ । त्यस हिसाबले एमालेलाई सहज भएको छ । सत्तामा रहेका अन्य दलहरु आफ्नो अस्तित्वका लागि लडिरहनुभएको छ । त्यसले हामीलाई केही असर गर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा उहाँहरुको अघिल्लो मत १३ सय मात्र हो । यस पटक पनि मैदानमा आउनुभएको छ, त्यो उहाँहरुको स्वतन्त्रता हो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : ०४ बजे