Logo

लुम्बिनी प्रदेश

असन्तुष्टिकाबिच लुम्बिनीमा सरकार विस्तार, शपथ तयारी हुँदै



दाङ । साना दलहरुको असन्तुष्टिका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् ।

बिहीबार मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक÷एक गरी छ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री हुनेहरुमा एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् ।

त्यस्तै, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरू चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

विहीबार विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । नियुक्त भएका विनाविभागीय मन्त्रीहरूको शपथग्रहण बिहीबार साँझ नै गराउने तयारी छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ३ : २४ बजे