Logo

Breaking News 1

काठमाडौंका सार्वजनिक स्थानहरूमा मौलिक भित्ते चित्र



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्ताहरुमा गतिबेला कलात्मक चित्र कोरिन थालेका छन् । महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भित्ते चित्रलेखन कार्य सुरु गरेको हो ।

महानगरले यसका लागि २०८० फागुन १७ गते नै सम्झौता गरेर कार्य अगाडि बढाएको हो । सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो ।

अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु लगायतका स्थानमा मौलिक कला र संस्कृति झल्किने खालका आकर्षक चित्र कोरिने महानगरले जनाएको छ । जसले सहरी सौन्दर्यतालाई बढवा दिने छ ।

चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइने छ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन् । मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, बादन, काठमाडौं चिनिने भौतिक सम्पदालगायतका आकृति हुने प्रतिष्ठानले जनाएको छ ।

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ । चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न महानगरपालिकाले नागरिकलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ३८ बजे