Logo

मुख्य समाचार

लुम्बिनी विकास कोषका योजना प्रमुखलाई भ्रष्टाचार मुद्दा



काठमाडौं । लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले भक्तपुरमा खरिद गरेको जग्गाको रकम लेनदेन गर्दा बैंकिङ विवरणबाट कोषमा ठेक्कापट्टाको काम जिम्मा लिने निर्माण कम्पनीबाट ८० लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

इन्जिनियर भट्टराईले भक्तपुरको सूर्यविनायक–७ मा २ रोपनी ९ आना र २ आना १ दाम क्षेत्रफल भएको जग्गा आफ्नी आमाको नाममा खरिद गरेका थिए । उनले पदीय मर्यादा विपरीतका काम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बैंक खातामा रकम जम्मा गरेको भौचरबाट लेनदेनको रकम भट्टराईको स्वआर्जन नभइ ठेकेदारले तिरेको खुलेको आयोगको विज्ञप्तिमा छ ।

आयोगका अनुसार उनले जग्गा खरिद गर्नको लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरबाट लिएको घूस आफूले सोझै नलिइ जग्गा विक्रेता र जग्गा खोजिदिने व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाएका थिए । उक्त रकम ४०÷४० लाख छुट्टाछुट्टै खातामा जम्मा भएको थियो ।

अनुसन्धानका क्रममा आयोगले लिएको बयानमा भट्टराईले जग्गा खोजिदिने व्यक्तिले प्राप्त गरेको ४० लाखमध्ये ३८ लाख ७ हजार २ सय रुपैयाँ समेत जग्गा विक्रेताको बैक खातामा जम्मा गराएको बताएका छन् ।

आयोगले कोषका योजना प्रमुख भट्टराईसँगै उनकी आमाविरुद्ध पनि सजायको मागदाबी लिँदै आरोपपत्र दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : ४८ बजे