Logo

Breaking News 1

राष्ट्रियसभाका तीन समितिको बैठक बस्दै, प्री–बजेटदेखि राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति बारे छलफल गर्ने कार्यसूची



काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्र्तगतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका काम कारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दैछ । यस्तै, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्या तथा रक्षा मन्त्रालयको समितिसँगको अपेक्षालगायतका विषय समितिले छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोज र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आगामी बजेट २०८१ निर्माणका सम्बन्धमा पूर्व बजेट निर्माणबारे छलफल गर्दै छ । यस्तै, विधायन व्यवस्थापन समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ०३ बजे