Logo

समाचार

‘पार्लरहरुका लागि मापदण्ड हुनुपर्छ, डाक्टरको काम पार्लर हुन हुँदैन’



सुन्दर देखिन जो पनि चाहन्छ । कुनै दुर्घटनामा परेर भएका दाग हटाउन गरिने उपचारलाई अपवाद मान्ने हो भने त्वचा कसरी सुन्दर बनाउने र के गर्दा आफू राम्रो देखिन सम्भव छ भनेर उपाय खोज्ने मानिसहरु धेरै छन् । शरीरको बोसो घटाउनेदेखि सर्जरी गरेर अनुहार राम्रो बनाउन चाहने धेरै छन् । थरीथरीका रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोग बढेका बेला चिकित्सकको सल्लाह लिने चेतना पनि बढ्दैछ । सुन्दर देखिन गरिने सामान्य मेकअपदेखि प्लाष्टिक सर्जरीसम्मको क्षेत्रमा सर्वसाधारणको बुझाइ र चिकित्सकीय दृष्टिकोणका विषयमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा. सुयोग मैनालीसँग गरेको संवाद –

अहिले प्रविधिले प्रकृतिलाई नै चुनौती दिएको छ । प्रकृतिको विपरीत गएर सुन्दर देखिनकै लागि हामी जे जे गर्छौ त्यो दीर्घकालीन रुपमा स्वास्थ्यलाई हानिकारक छ कि छैन ?
प्रकृतिलाई चुनौती दिएर आफूलाई अझ बढी सुन्दर बनाउने हाम्रा गतिविधि परापूर्वकालदेखि नै चलिरहेको छ । तीनचार हजार वर्ष पहिला रोममा लिपिस्टिकको प्रयोग भएको थियो । गाजल लगाउने, आदिवासीहरुले जिउमा ट्याटुहरु खोप्ने धेरै पहिलादेखि चलिआएको चलन हो । अहिलेको मोर्डन मेडिकल विज्ञानले त्यसलाई अझ बढी परिष्कृत गरेर सकेसम्म स्वास्थ्यमा हानी नहुने गरेर, लामो अनुसन्धानहरु गरेपछि मात्रै अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको उपचारहरु भइरहेका हुन्छन् । त्यसैले समग्र स्वास्थ्यमा त्यसले हानी गर्दैन ।

अहिले विभिन्न खालका फिलरहरु गर्ने गरिन्छ । त्यसैगरी गोरो बनाउनलगायत अन्य कामका लागि प्रयोग गरिने सूईहरुले दीर्घकालीन रुपमा काम गर्छ कि गर्दैन ? यसको प्रभाव के हुन्छ ?
फिलर कुनै ठाउँमा खाल्डो परेको छ भने त्यस्तो स्थानमा भर्ने एउटा ह्यालुरोनिक एसिड भन्ने तत्व हो । जुन आफ्नो शरीरमा पनि पाइन्छ । त्यसैको डेन्स फर्मलाई फिलर्स भन्छौ र त्यसको प्रयोग गर्छौ । दीर्घकालीनरूपमा यसले खासै हानी गर्दैन । विस्तारै विस्तारै शरीरले आफैं सोसेर लान्छ । साधारणतया एकदेखि डेढ वर्षका लागि काम गर्छ । यसको साथै दीर्घकालीन रुपमा समाधान गर्नका लागि बोसोहरु निकालेर गर्ने विधि पनि छ । फिलर जस्तै काम गर्ने तरिकाले आफ्नै शरीरको बोसो निकालेर एउटा ठाउँबाट अर्को ठाउँमा हाल्दा पनि दीर्घकालिन हुन्छ ।

गोरो बनाउन अन्य इन्जेक्सनहरु अथवा कपाल उमार्ने सुईहरु प्रयोग गर्ने गरिन्छ । तिनीहरु फिलर्स नभएर आफ्नै रगतबाट ग्रोथ फ्याक्टर्सहरु छुट्याएर हाल्ने विधि हो । जसले कपालको वृद्धि विकास, पहिलाको भन्दा बाक्लो होस भनेर यस्तो विधि अपनाइन्छ । यो भने दीर्घकालीन समाधान होइन ।

शरीरमा रौं हुनु प्राकृतिक नै हो तर कसैको शरीरमा आवश्यकभन्दा बढी नै हुन्छ, यसको कारण के हो ?
त्यसको कारण सबैभन्दा पहिला वंशाणु नै हुन्छ । जस्तो बाहुन, क्षेत्रीहरुको अलि बढी रौं पलाउछ भने मंगोलियनहरुको अलि कम पलाउने हुन्छ । तर पनि महिलामा अझ बढी रौं पलाउने कारण हर्मोनको मात्रा बढी भएर पनि हो । पाठेघरको समस्या पोलिसिस्टिक ओभरी सिन्ड्रोमहरु भएको कारणले पनि बढी पलाउने हुनसक्छ । जे कारणले बढी विकास भएको भए तापनि त्यसको समाधानहरु हामीसँग छ ।

यसको समाधानको कुरा गर्दैगर्दा हाम्रो छालामा रहेका कोषिकाहरुमा असर गर्छ भन्ने धारणा छ, यो कतिको सत्य हो ?
लेजरबाट रौं दीर्घकालका लागि हटाउने तरिका सन् १९७०/८० देखि चलिआएको हो । यसबाट दीर्घकालीन क्यान्सर हुने अथवा छालाको कोषिकाहरुलाई फरक पर्ने भन्ने खालको कुरा अनुसन्धानहरुले पनि भेटाएको छैन् । कहिलेकाही हुनसक्ने भनेको कालो रंगको छालामा लेजरहरु गर्दा पावरहरु मिलेर, हाइपावर भयो भने त्यो ठाउँमा सेतो दाग बस्ने जस्ता नकारात्मक प्रभाव भने हुनसक्छ । त्यसकारण यो प्रविधिको प्रयोग गर्दा अनुभवी डाक्टरहरुसँग मात्रै गराउनुपर्छ ।

सौन्दर्यको लागि विभिन्न केमिकलहरु बजारमा सजिलै भेटिन्छ । हस्पिटलमा गएर डाक्टरको सल्लाहबाट प्रयोग गर्नु र प्रचारमा आएका सामान प्रयोग गर्नुमा के फरक छ, कतिको असर हुन सक्छ ?
बजारमा आएका केमिकलहरुले एकदम ग्यारेन्टीका साथ काम गर्छ र एकदम छिटो ठिक गराउने भनेर सुरुमा हेर्दा कति राम्रोसँग चाया-पोतो सफा भयो भन्ने हुन्छ । तर विस्तारै यसले छालालाई पातलो बनाउँदै लान्छ । अनुहारको भित्रसम्मको सबै भाग देखिएर अनुहार रिकभर नहुने समस्या आउन सक्छ । वा रातो बनाएर छाड्छ । हामीले त्यस्तो सामानहरु प्रयोग गर्दा सुरुमा कडा खालको, त्यसपछि अलि कम र अन्त्यमा नकारात्मक केमिकलहरु नभएका वस्तु प्रयोग गर्ने भनेर तहगत प्रक्रियामा गर्नुपर्छ । त्यसको ज्ञान भने बजारमा पाइँदैन । जसका कारणले छालाहरु बिग्रिने गर्छ ।

अहिले पार्लरहरुमा पनि सौन्दर्य स्वास्थ्यको उपचारहरु गरिन्छ । जुन अस्पतालहरुमा गर्नुपर्ने उपचार हो त्यो पनि गर्ने गरिन्छ । त्यो कतिको राम्रो छ कि हानिकारक छ ?
पार्लरहरुले मानिसलाई सुन्दर बनाउने काम त गर्ने नै हो । तर यसमा एउटा समस्या ज्वलन्त रुपमा आउने गर्छ । मेडिकल सुपरभिजनमा हुनुपर्ने प्रक्रियाहरु नहुन सक्छन् । लेजर, केमिकल पिल जस्ता कामहरु पार्लरले नै गर्न थालेको कुरा मैले धेरै सुनेको छु । त्यो पनि सस्तो मूल्यमा । त्यो गुणात्मक हुँदैन, त्यसमा ज्ञान हुँदैन । त्यसपछि छाला बिग्रिसकेपछि बल्ल डाक्टरकहाँ ठिक गराउनको लागि भनेर आउनुहुन्छ । त्यसैले पार्लरहरुलाई एकदमै कडाइ गर्नुपर्छ । पार्लरमा यतिसम्मको काम मात्रै गर्न पाइन्छ भनेर मापदण्ड बनाउनुपर्छ । पार्लरमा बढी मापदण्डभन्दा बढी गरियो भने छालालाई असर गर्छ भन्ने बुझ्नपर्छ । रगत, केमीकल, लेजरहरुबाट गरिने उपचारहरु पार्लरहरुले गर्न नपाउने नै हो । त्यो गैरकानुनी पनि हो । त्यसलाई नियमन गर्न अहिलेसम्म नेपाल सरकारले सकेको छैन ।

हाइड्रा फेसियल भन्ने एउटा फेसियल छ, त्यो पनि डाक्टरहरुको परामर्शमा मात्रै गर्ने हो की पालरमा पनि गर्दा हुन्छ ?
हाइड्रा फेसियलमा भने कुन प्रकारको हाइड्रा फेसियल गरियो, त्यसमा भर पर्छ । सामान्य केमीकल प्रयोग गरेर बाहिरको एउटा लेयरमा मात्रै सफा गर्ने काम गर्नु हुन्छ भने त्यो पार्लरहरुले गर्दा पनि त्यस्तो हानी हँुदैन । तर जब यसमा कमसल सामानहरु, कडा केमिकलहरु प्रयोग गर्न थालिन्छ अथवा रेडियो फ्रिक्वेन्सी ह्यान्ड पिसहरु, अल्ट्रासाउन्डको ह्यान्ड पिसहरु प्रयोग गर्न थालिन्छ, एउटै हाइड्रा फेसियलमा नौं वटा ह्यान्ड पिससम्म आउँछ । अहिले त्यो प्रकारको प्रयोग गर्दा पुरै नर्भ ड्यामेज हुनेदेखि मुख बांगो हुने समस्याहरु देखिन्छ । यसको साथै छाला पातलो हुनेलगायतका धेरै प्रकारका समस्याहरु आउँछन् । त्यसैले एकदमै सामान्य हाइड्रा फेसियल पार्लरले गर्दा त्यति छाला बिग्रिने डर हुँदैन । तैपनि सकेसम्म मेडिकल सुपरभिजनमै हाइड्रा फेसियल गराउदा राम्रो हुन्छ । यस्तो कुरा सबैले बुझ्नुपर्‍यो । यदि कुनै ठाउँमा धेरै नै सस्तोमा केही उपचारहरु भइरहेको छ, असक्षम मानिसले गरिरहेको छ भने त्यस्तो स्थानमा नजाँदा नै राम्रो हुन्छ ।

नेपालमा सौन्दर्य स्वास्थ्यको विकास बाहिरको तुलनामा त्यस्तो धेरै भएको छैन । यस सम्बन्धी उपचार गराउन आउनेहरुमा कत्तिको ज्ञान छ ? छाला बिग्रिसकेपछि आउनेको संख्या बढी छ कि पहिला नै आउनेको संख्या बढी छ ?
२०१२ मा मैले जब नेपालको पहिलो कस्मेटिक सर्जरी क्लिनिकको सुरुवात गरेँ त्यो बेला नेपालमा सौन्दर्य चिकित्सा सम्बन्धी जनचेतना पनि थिएन । त्यो बेला मानिसलाई बुझाउन सार्‍है गाह्रो हुन्थ्यो । यस्तो पनि उपचार हुन्छ भनेर बुझ्न नै नचाहनेहरु थिए । तर अहिले विस्तारै धेरै क्लिनिकहरु पनि खुल्न थाले । धेरै डाक्टरहरुले यो सम्बन्धी शिक्षा पनि हासिल गर्नु भएको छ । त्यसकारणले अहिले जनचेतना पहिलाको भन्दा धेरै गुना माथि भईसकेको छ । अहिले मध्यम वर्गसम्मले, अलि अलि पढाइ राम्रै भएको परिवारको मानिस सुरुमा नै दक्ष मेडिकल डाक्टरकोमा नै जानुपर्छ । उपचारको लागि भनेर मात्र सिधै हामीकहाँ आउनुहुन्छ । यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् ।

पहिला महिला ९० प्रतिशत हुन्थे भने अहिले ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष आउने अवस्था भइसकेको छ । जसले पुरुषहरुलाई पनि आफ्नो सौन्दर्यप्रति चेतना बढिरहेको जस्तो देखिन्छ । यसका साथै पछिल्लो १०/१२ वर्षमा विदेशिने नेपालीहरुको संख्या पनि धेरै भएको र बाहिर नै धेरै प्रकारको कस्मेटिक सर्जरी र उपचारहरु देखेर चेतना बढेर नेपालमा भएका परिवारहरुलाई पनि यस्तो उपचार हुने रहेछ यो ठाउँमा जानु भनेर पठाउनुहुन्छ । डाक्टरकोमा जानुभन्दा अगाडि नै उपचारको बारेमा आफैंले नै बुझेर आउने बिरामीहरुको संख्या बढ्दो क्रममा छ ।

अहिले प्राय महिलामा देखिने समस्या भनेको चाँया-पोतोको हो । यसको मुख्य कारण के हो ? यसको उपचार पूणर् रूपमा नै हुनसक्छ वा हुँदैन ?
चाया मुख्य तीनवटा कारणले आउँछ । एउटा घाम र धेरै तापक्रमको कारणले आउँछ । अर्को वंशानुगत जिनले आउँछ र अर्को हर्मोनको कारणले हुन्छ । जस्तै, गर्भवती हँुदा हर्मोन तलमाथि हुँदा आउनेगर्छ । यो एकचोटी आएपछि पूणर् रुपमा निको हुन लगभग असम्भव नै छ । एकपटकको लागि हटाउन सक्छौं । विभिन्न प्रकारका उपचारहरु गरेर खाने औषधि, लगाउने औषधि, लेजर, केमिकल पिल गरेर सफा गर्न सक्छौ । तर, त्यसपछि त्यसलाई मेन्टेन गर्न सकिएन, लापरबाही गरियो भने फेरि छिटै फिर्ता आउने सम्भावना छ ।

त्यसैले उपचार गरेर मात्र हुँदैन । यसको दीर्घकालीन रुपमा हेरचाह पनि गर्नुपर्छ । जस्तै, डाइबिटिज भएको मानिसले आफ्नो सुगरलाई नियन्त्रणमा राख्नुपर्छ । त्यसैगरि यसलाइ नियन्त्रणमा राख्नको लागि हेरचाह गर्नुपर्छ ।

यसको लागि खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ ?
खानपानभन्दा पनि घाम र हिटको प्रभावबाट बच्नुपर्छ ।

शरीरको विभिन्न अंगबाट बोसो तानेर गरिने एकखालको लेजरहरु पनि आइरहेको छ । यो केका लागि र कसरी गरिन्छ ?
बोसो पगाल्ने लेजर भनेर विभिन्न प्रकारका हुन्छन् । कुनै बिना अपरेसन बाहिरैबाट लेजरको लाइट, अल्ट्रा साउन्ड वेबहरु पास गरेर गर्ने विधीहरु पनि छन् त्यो दीर्घकालीन समाधान होइनन् । जुन हामी सर्जरी गरेर गर्छौ । त्यो पनि विभिन्न प्रकारका हुन्छन् । सबैको परिणाम उस्तै नै हो हुन त तर हामीले प्रयोग गरिरहेको लेजर असिस्टेड लिपोसक्सन भनिन्छ । जसलाई स्मार्ट लिपोसक्सन पनि भनिन्छ ।

यसमा एउटा सानो प्वाँल बनाएर लेजरको फाइवर भित्र छिराएर पहिला बोसोलाई पगालिन्छ । त्यसपछि एउटा मसिनो पाइपभित्र छिराएर जुन एरियाको बोसो घटाउन गइरहेका छौ त्यो बोसोलाई भ्याकुममार्फत तानेर बाहिर निकाल्छौ । जुन बोसो हामीले निकाल्छौ त्यो पछि कहिले पनि लाग्दैन । जति खाए पनि बोसो निकालेको भागमा कहिले पनि बोसो लाग्दैन ।
अर्को एउटा गलत विचार के छ भने यो तौल घटाउनको लागि हो भन्ने गलत धारणा छ । तौल घटाउनका लागि होइन । हामीले एकपटकमा ३/४ केजीसम्म बोसो निकाल्न सक्छौ । तर यो शरीरको आकार मिलाउनको लागि हो ।

यसको उपचारको क्रममा कतिको दुखाइ हुन्छ र खतरा कतिको हुन्छ ?
यो उपचार हामीले बेहोस नगराइकन गर्छौ । यो एकदमै सुरक्षित प्रक्रिया हो । यो सर्जरी भएपछि तुरुन्तै घर जान पनि मिल्छ । बेहोस बनाएर गर्दा अझ बढी समस्याहरु आउन सक्छ । अथवा शरीरमा ५/६ लिटरभन्दा बढी बोसो एकैपटक तान्ने प्रयास गर्‍यो भने समस्याहरु आउन सक्छ । सामान्यतया यसमा समस्याभन्दा पनि सर्जरी गरेको स्थानमा सुन्निने, नीलो बस्ने एकदुई महिनासम्म सबैलाई हुने नै हो । त्यसपछि ठिक हुन्छ ।

यो स्तनको सन्दर्भमा सन्तान भएकाले मात्र गर्न मिल्ने हो की नभएकाले पनि गर्न मिल्छ ?
सबैले मिल्छ । यसले पछि स्तनपानमा अथवा बच्चा जन्माउनमा केही पनि हानी गर्दैन । यसबाट क्यान्सरहरु बन्ने पनि हुँदैन ।

यो प्रक्रियाले शरीरको सेप नै बिग्रिने भन्ने कुरा पनि कतै सुन्न सकिन्छ, यो के हो ?
यसबाट सेप बिग्रिने होइन, झन राम्रो हुन्छ । अर्को यो प्रक्रियाबाट गइसकेको मानिसले धेरै खाएर, ज्यानको ख्याल नगर्ने हो भने बोसो निकालेको स्थानबाहेक अन्य स्थानमा बोसो लाग्ने नै हुन्छ । त्यो कारणले पनि कसैको शरीर बिग्रिने हुनसक्छ । यो एकदमै कमै केस हो, यसमा आफ्नो खानपिनको बानीलाई नियन्त्रण गर्न सक्नु पर्छ ।

अन्त्यमा मैले जहिले भन्ने गरेको सस्तो भनेर अथवा अफर पछि नलाग्नु । राम्रोसँग बुझेर आफ्नो उपचार गर्नुपर्छ । मानिसको क्षमता के हो, सबै कुरा बुझेर राम्रो ठाउँमा गएर उपचार गर्नुपर्छ । डाक्टर भएको ठाउँमा गएर उपचार गर्नु राम्रो हुन्छ । बिग्रिसकेपछि सुधार गर्न गाह्रो हुन्छ । त्यसकारण बिगार्न नदिने हिसाबले उपचार गरौं ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ११ : ५० बजे