Logo

समाचार

आँखा उपचार : सेवा सुलभ, चेतना अभिवृद्धिमा चुनौती



काठमाडौं । नेपालमा आँखा उपचारको सेवाले ठूलो फड्को मारेको नेपाल नेत्रज्योति संघले जनाएको छ । ४६ औं नेत्रज्योति दिवस को पूर्वसन्ध्यामा मंगलबार संघले राजधानीमा पत्रकार सम्मेलन गर्दै देशभर सेवा अझ सहज र सुलभ हुने जनाएको छ ।

आँखा उपचार सेवा जनताको घरदैलोमा पु¥याउने योजनाअनुसार २८ आँखा अस्पताल, १ सय ५६ आँखा उपचार केन्द्र तथा जिल्ला शाखाहरुका साथै हजाराैं स्वयमसेवक तथा कर्मचारीमार्फत काम भइरहेको संघका अध्यक्ष डा. चेतराज पन्तले बताए ।

‘हामीले नेपाललाई अन्धोपनबाट मुक्त बनाउने कुरा अठोट गर्ने हो भने यो सम्भव छ । यसमा समस्याको साथै अवसर पनि छन् । बिरामीहरुलाई पहुँचको कमी त छैन तर उपचार गर्नुपर्छ भन्ने चेतनाको कमी छ,’ उनले भने, ‘जनचेतना फैलाउनको लागि हाम्रो संस्थाले सक्दो प्रयास गरेको छ । सरकारले नेपाली जनतालाई स्वास्थ्यमा केही ठूलो काम गरेको छ भने त्यो बीमा हो, त्यसबाट पनि हामीले उपचार गर्न सक्छौं ।’

नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार, प्रदेश, स्थानीय सरकारसँगको साझेदारीले उपचार सेवा भविष्यमा अझ सुलभ र सबल हुने जानकारी उनले दिए । आँखा जाँच र उपचारको सेवालाई तराईका गाउँदेखि पहाडी र हिमाली क्षेत्रका बस्तीसम्म पु¥याउन संघले भूमिका खेल्दै आएको उनले बताए ।

सन् २०२३ मा संघले आफ्नो मातहतका शाखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट ३३ लाख ६ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ६५ हजार ८ सय ८५ जनालाई शल्यक्रियाको सेवा दिएको जानकारी कार्यक्रममा दिइयो । सन् २०२३ मा संघको सञ्जालमार्फत ८ लाख ५ हजार ३ सय १६ जना विदेशी नागरिकले नेपालबाट आँखा उपचार सेवा प्राप्त गरेको तथ्यांक छ ।

सन् १९८१ को राष्ट्रिय सर्वेक्षणबाट नेपालमा अन्धोपनको स्थिति ०.८४ प्रतिशतबाट रहेकोमा अहिले त्यो घटेर ०.२८ प्रतिशतमा झरेको छ । १९८१ मा झन्डै सय जनामध्ये झण्डै एक जना दृष्टिविहीनताको स्थिति रहेकोमा करिब ४० वर्ष पछि सन् २०२० को सर्वेक्षणबाट दृष्टिविहीनताको स्थितिलाई घटेर ३ सय ५८ जना बराबर एक जना भएको पाइएको थियो । पहिलेभन्दा सेवा अझ सुलभ भएको छ ।

पछिल्लो समयमा संघले आँखा सम्बन्धी विशेषज्ञहरुको उत्पादनमा समेत विशेष ध्यान दिदै आएको जनाएको छ । विसं. २०६९ देखि संघले कान सम्बन्धी उपचार सेवा पनि प्रारम्भ गरेको छ ।

संघ अन्तर्गत कर्णाली प्रदेशमा सञ्चालित एकीकृत आँखा तथा कान परियोजनामार्फत सन् २०२३ सम्ममा कर्णाली प्रदेशको दुरदराजमा पुगेर ६ हजारभन्दा बढी बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा दिइएको छ ।

स्थापनादेखि हालसम्म संघको संजालमार्फत नेपाली र विदेशीगरि धेरै बिरामीलाई सेवा दिएको छ । ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया नै भइसकेको छ ।

नेत्रज्योति दिवसका अवसरमा संघले सुदूरपश्चिम प्रदेश सरकार, भरतपुर महानगरपालिका चितवन, लहान नगरपालिका सिरहा,, गुर्भाकोट नगरपालिका सुर्खेत, लमही नगरपालिका दाङ, गढवा गाँउपालिका, मेची खाँखा अस्पतालका निर्देशक डा. पुरुषोत्तम जोशी र विकास साझेदार एनएबीपीलाई सम्मानित गर्ने भएको भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : २३ बजे