काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउँन सक्यो ।
मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाए । ओपनर रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए पनि मुम्बइको हार टरेन । यसै खेलमा आईपीएल डेब्यु गरेका अज्मतुल्लाह उमरजाइले पहिलो ओभरमा नै मुम्बईका ओपनर इशान किशनलाई आउट गराएका थिए । दोस्रो विकेटका लागि शर्मा र नमन धिरले ३० रनको साझेदारी गरे । नमनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन बनाए। तेस्रो विकेटका लागि शर्मा र ब्रेभिसले ७७ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितीमा पुर्याएका थिए ।
तिलक बर्माले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । गुजरातका लागि उमेश यादव, मोहित शर्मा, स्पेसर जोनसन र अज्मतुल्लाह उमरजाइले समान २÷२ तथा साई किशोर १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रनको ईनिङ खेले। यसै खेलबाट पहिलो पटक टोलीको कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।
राहुल तिवातियाले १५ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए। ओपनर रिद्धिमान शाहले १५ ओभरमा ४ चौकाको सहयोगमा १९ रन बनाए । अज्मतुल्लाह उमरजाईले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए ।
मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेरार्ड कोट्जेले २ विकेट लिए । पियुष चावलाले १ विकेट लिए ।
प्रतिक्रिया