पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ । कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् ।
गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’ नाम राखेका छन् । यहाँभित्र विभिन्न धातुबाट बनेका मूर्ति पनि भेटिएका छन् ।
आजभन्दा २५–३० वर्षअघि नै गुफा भेटिएको भए पनि स्थानीयले खासै चासो दिएका थिएनन् । सामान्य प्वालजस्तो ठानेर स्थानीयवासीले बेवास्ता गरेको भए पनि पछिल्लो समय स्थानीयले खोजी गर्दा विशाल गुफा भेटिएको स्थानीय अगुवा भवानीप्रसाद शर्माले बताए ।
गुफा भेटिएसँगै स्थानीय यसको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् । यसको उचित ढङ्गले प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका आकर्षणको केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताए ।
प्रतिक्रिया