Logo

राजनीति

राजेन्द्र महतोको बारेमा कुनै निर्णय गरिरहन परेन : लोसपा



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समिति बैठकबाट वरिष्ठ नेता राजेन्द्र महतोको बारेमा कुनै निर्णय गरेन । महोत्तरीमा दुई दिनसम्म चलेको बैठकमा यसबारे छलफल भए पनि महतो आफैँ पार्टी छाडेर गइसकेका कारण यसबारे थप निर्णय गरिरहन नपर्ने ठहर गरिएको सहभागी स्रोतले बतायो ।

महतोले लोसपाबाट विद्रोह गरेर बहुल राष्ट्र निर्माणका लागि राष्ट्रिय मुक्ति क्रान्ति सुरु गरिसकेका छन् । केही अघि महतोले पत्रकार सम्मेलन गर्दै आफू लोसपामा नरहेको घोषणा पनि गरिसकेका थिए । यद्यपि पार्टीबाट उनले राजीनामा दिएका छैनन् ।

लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलका अनुसार महतोले पार्टी छाडेर गइसकेका कारण उनको बारेमा पार्टीका तर्फबाट कुनै निर्णय गरिरहन आवश्यक नरहेको हो ।

महतोको साथमा लोसपाबाट को–को गएका छन् भन्नेबारे नामावली तयार गर्न जिल्ला कमिटीलाई बैठकले निर्देशन दिइसकेको छ । जिल्ला जिल्लाबाट आएको रिपोर्टका आधारमा उनीहरूलाई पार्टीबाट कारबाही गर्ने निर्णय भएको उपाध्यक्ष सोनलले बताए ।

दुई दिनसम्म चलेको बैठकमा लोसपाका नेताहरूले विभिन्न पाँच वटा प्रतिवेदन पेस गरेका थिए । वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पार्टीको राजनीतिक कार्यदिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले संगठन सुदृढीकरणको विषयमा तयार गरेको प्रतिवेदन पेस गरेका थिए भने वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णले पार्टीको अन्तरिम विधान संशोधनको बारेमा प्रतिवेदन पेस गरेका थिए ।

अर्का वरिष्ठ उपाध्यक्ष प्रदीपनारायण यादवले भ्रातृ संगठन तथा विभागहरूको सङ्ख्या निर्धारणको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । सुझावका आधारमा संशोधनसहित सबै प्रतिवेदन पारित भएका छन् । पार्टीलाई क्रियाशील बनाउन पालिकादेखि प्रदेश तहसम्म पार्टीको अधिवेशन गर्ने लगायतका विषयमा छलफल भएको छ । पार्टीले विधान अधिवेशन गरेर महाधिवेशनको तयारीमा जुट्ने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष सोनलले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १ : ३४ बजे