Logo

खेलकुद

अल हिलाल एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलमा


३० फाल्गुन २०८०, बुधबार  

46
Shares

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा अल हिलालले सेमिफाइनलमा स्थान बनाएको छ । साउदी क्लब अल हिलालले घरेलु प्रतिद्वन्द्वी अल इथियाडलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो लेगमा पनि २–० को जित निकालेको अल हिलालले दोस्रो लेगको नतिजासँगै ४–० को जितका साथ अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अल हिलालले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

यासिल अल सहरानीले ६१ औं मिनेटमा गोलको खाता खोलेका थिए । दोस्रो हाफको इन्ज्योरी टाइममा मालकोन फिलिपेले गोल गरेपछि अल हिलाल दोस्रो लेगमा पनि २–० ले विजयी भयो । सेमिफाइनलमा अल हिलालले फाइनल प्रवेशका लागि अल एइनसँग अप्रिल १६ मा खेल्ने छ । अल एइन क्रिष्टियानो रोनाल्डोको टोली अल नारसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

एएफसी च्याम्पियन्स लिग अन्तर्गत अर्को खेलमा कोरियन टोली हुन्डाइ उल्सानले घरेलु टोली हुन्डाइ मोटर्स जेडनबुकलाई समग्रमा २–१ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएकाले दोस्रो लेगमा उल्सानले १–० को जित निकाल्दा सेमिफाइनल पुग्न पर्याप्त भयो । उल्सानका लागि योङ ओ सिओलले पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : १४ बजे