Logo

गण्डकी प्रदेश

गण्डकीको मुख्यमन्त्रीमा माओवादीको दाबी, असर पर्ने निर्णय नगर्न सरकारलाई चेतावनी


२८ फाल्गुन २०८०, सोमबार  

46
Shares

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्ता घटक दल नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि आवश्यक पहल गर्ने अनौपचारिक निर्णय गरेको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् ।

सोमबार नै गण्डकीको मुख्यमन्त्री एमालेले चारै वर्ष चलाउने सहमति भएको हल्ला बाहिरिएको छ । तर दलका नेता हरिबहादुर चुमानले अहिले माओवादीले नेतृत्व पाउनुपर्ने अडान राखेका छन् । माओवादीकै समर्थनमा २ कार्यकाल एमाले र २ कार्यकाल कांग्रेसले सरकारको नेतृत्व गरिसकेको छ ।

तर एमाले दलका नेता खगराज अधिकारीले सत्ता समीकरण फेरिने बित्तिकै काठमाडौँ पुगेर सत्ता सञ्चालनको आन्तरिक गृहकार्य गरेर आएको बुझिएको छ । उनका अनुसार सरकारको नेतृत्व एमालेले नै पाउने लगभग पक्कापक्की छ । उनले आइतबार दलको बैठक राखेर केन्द्रमा भएको छलफलबारे सांसदहरूलाई ब्रिफिङ पनि गरे ।

एमालेको बैठक बसेको भोलिपल्ट माओवादीले बैठक राखेर सरकार गठनमा सहजताका लागि दलहरूलाई आह्वान गरेको छ । एमालेकै शैलीमा माओवादीले पनि सबै संवाद र छलफलको अधिकार दलका नेतालाई दिएको छ भने सहज रूपमा नयाँ सरकार गठनका लागि आह्वान गरेको छ । यस्तै, सरकार अल्पमतमा परेकोले दीर्घकालीन असर पर्ने निर्णय गर्न एमालेले झैँ सचेत गराएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  २ : ५२ बजे