Logo

मुख्य समाचार

‘माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन’


२१ फाल्गुन २०८०, सोमबार  

161
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी गडगडाउँदो खोला जस्तो बग्ने नदी भएकाले निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने तर्क गरेका छन् ।

राजधानीमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाएका उनले माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने नभई गडगडाउँदो बग्ने नदी भएको बताए ।

उनले निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने भन्दै क्रमभंग गर्दै नयाँ नयाँ परिस्थितिहरू निर्माण गर्दै अगाडि बढ्ने जात माओवादी रहेको बताए ।

उनले भने, ‘आजको दिन अलि विशेष दिन भयो । आजको दिन फेरि एकचोटि नयाँ ध्रुवीकरण, नयाँ राजनीति परिस्थिति सृजना भयो, फेरि एउटा उथलपुथल हुने दिन बन्यो । साँचो कुरा हो, माओवादी जहिले पनि सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन । गडगडाउँदो खोला जस्तो बग्ने नदी हो । निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन ।निरन्तरतामा क्रमभंग गर्दै नयाँ नयाँ परिस्थितिहरू निर्माण गर्दै अगाडि बढ्ने जात हो ।’

प्रधानमन्त्री प्रचण्डले सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रीत हुन आवश्यक रहेका भन्दै खिइँदैै, सुक्दै र एक्लो हुँदै अनि फेरि ठूला कुरा गरिराख्न नमिल्ने बताए ।

उनले आफूलाई प्रतिक्रियावादीहरूले घेरा हालेर सिध्याउने प्रयास गरेको भन्दै त्यस्तो घेरा तोड्दै जाने र आफू नमर्दांसम्म देशमा उथलपुथल भइरहने बताए । उनले कांग्रेसको नाम नलिइ सँगै रहेर सत्ता सञ्चालन असहज भएकाले नयाँ परिस्थिति बनेको संकेत गरे ।

उनले भने, ‘हामी माओवादी नेपाल राष्ट्र र जनताको घोडा हो । सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रीत हुन आवश्यक छ । खिइँदैै, सुक्दै एक्लो हुँदै अनि फेरि ठूला कुरा गरिराख्ने यस्तो हुँदैन । यो नहुने बुद्धितिर नलागौं । मैले भनिहालेँ म त म नै हो । म नमर्दा सम्म देशमा उथलपुथल भइराख्छ । मलाई घेरा हालेर सिध्याउन धेरै खोजे तर त्यस्तो घेरा तोड्दै आएका छौं, तोड्दै जान्छांै ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : ३८ बजे