Logo

मुख्य समाचार

मिटरब्याज पीडितको ‘नाङ्गो पैताला मार्च’ आज


१५ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ २३ दिनसम्म पैदलमार्च गरेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरूले मंगलबार ‘नाङ्गो पैताला मार्च’ गर्दैछन् ।

मिटरब्याजी साहुहरूबाट आफूहरूमाथि भएको अन्यायविरुद्ध संघर्षमा उत्रिएका उनीहरूले न्याय पाउनुपर्ने माग गर्दै पैदल मार्च गरे भने अहिले सडक संघर्ष र विभिन्न विरोधका कार्यक्रम गरिरहेका छन् ।

मिटरब्याज ठगीविरुद्ध मजदुर किसान संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार विहान साढे ११ बजेदेखि खाली खुट्टा पैदल हिडेर ‘नाङ्गो पैताला मार्च’ निकाल्ने तयारी रहेको बताए ।

‘भृकुटीमण्डपबाट पैदलमार्च सुरू हुन्छ । आज हामी खाली खुट्टा मार्च गरेर प्रदर्शन गर्दैछाँै,’ उनले भने, ‘हामीले राखेको माग पूरा हुने अवस्था नभएसम्म आन्दोलन रोकिने कुरा हुदैन । आजको पैदलमार्च भद्रकाली, सहिदगेट, सुन्धारा, एनएसी, न्यूरोड, असन, भोटाहिटी, हुँदै शान्तिवाटिका भएर भृकुटीमण्डप फर्किने कार्यक्रम रहेको छ ।’

एक हजार किमिभन्दा लामो पैदल मार्च गरेर गत शुक्रबार काठमाडौं आइपुगेका उनीहरूले त्यसयता माइतीघर लगायत क्षेत्रमा निषेधित क्षेत्र घोषणा भएपछि भृकुटीमण्डप र शान्तिवाटिकामा रहेर धर्ना दिइरहेका छन् । दिउँसो र्‍याली र विरोध सभा गरेर विरोध प्रदर्शन गर्छन् ।

उनीहरूले सोमबार संघीय संसद् भवनको गेटबाट अप्रत्यासितरुपमा भित्र छिरेर सरकार, संसद् र सिंगो देशलाई नै चकित बनाइदिए । देशव्यापी कष्टपूणर् संघर्ष गर्दा पनि उनीहरूतिर ध्यान नतानिएकोमा सोमबारको घटनापछि सरकार र राजनीतिक दलहरूलाई थप दबाब पुगेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : १० बजे