Logo

मनोरञ्जन

स्वर्गीय गायक तथा संगीतकार आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने


१५ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि परिसरमा राखेर आजै दिउँसो दाहसंस्कारका लागि ११ बजे पशुपति लैजाने तयारी छ ।

पिता बलभद्र र मात रेनुकाको कोखबाट जन्मिएका भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षीय संगीतकार आचार्यको सोमबा निधन भएको थियो । आचार्यको निधनप्रति राष्ट्रपति, सङ्गीतकर्मी, कलाकर्मीदेखि सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

१६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय रहेका आचार्यले झण्डै साढे चार सय गीत रेकर्ड गराएका छन् । आचार्यको स्वरमा गुन्जिएका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको माया, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेमलगायतका गीत चर्चित छन् । त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले जस्ता छन् ।

भजनशिरोमणिको उपाधि पाएका आचार्य सन् १९७३ देखि ८६ सम्म संगीत साधनामा सक्रिय थिए। भक्तराज सूर सम्राट मानिन्छन् । आचार्यले भजनदेखि आधुनिक गीत, गजल बालगीतलगायतमा स्वर र संगीत दिएका छन् । २०४९ सालमा जिब्रोमा क्यान्सर भएपछि आचार्यको जिब्रो काट्नुपरेको थियो । त्यसपछि उनले गाउन र राम्रोसँग बोल्न सकेका थिएनन् ।
आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । उनका दुई छोराहरु सत्यराज र स्वरुपराज पनि संगीत साधनामा पिताजिकै पथमा सत्रिय रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : १९ बजे