Logo

राजनीति

माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि संसद्मा हंगामा, ज्ञानेन्द्र शाहीलाई सुनिल शर्माको साथ


१३ फाल्गुन २०८०, आइतबार  

713
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक जारी छ । जारी प्रतिनिधि सभा बैठकमा सांसदहरुले विशेष समयमा आफ्नो कुरा राखिरहेका छन् ।

जारी बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोलेको कुरामा सत्तारुढ दल विभाजित बनेका छन् । सांसद शाहीले बोल्नेक्रममा माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केनद्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका छन् ।

सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधान पल्टाएर जवाफ दिएका थिए । उनले संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए ।

शाहीले माओवादीलाई लक्षित गर्दै हत्या हिंसा गरेर आएको होइन भनेपछि माओवादीका प्रमुख सचेतक पाण्डे उठेर नियमापत्ति गर्दै ती शब्द आपत्तिजनक रहेको बताए ।

तर, पाण्डेलाई काउन्टर गर्दै कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताए । उनले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा आएर बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीको पक्ष लिएका थिए ।

सत्तापक्षकै सांसद आफ्नो विपक्षमा उभिएपछि पाण्डे आफ्नो स्थानमा बसेका थिए । त्यसपछि पनि ज्ञानेन्द्र शाहीले लगातार माओवादीप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिईरहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ०४ बजे