Logo

राजनीति

मूलभूत विषयमा प्रतिकुल प्रभाव नपर्ने गरी संविधान संशोधन गर्न छलफल गर्नुपर्छ : सभापति देउवा



काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनमा दृढ रहेको बताएका छन् । सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधानको उचित कार्यान्वयनबाट मात्रै मुलुकमा सुशासन, विकास र शान्ति कायम हुनसक्ने बताए ।

उनले अन्तरिम संविधानदेखि अहिलेसम्मको संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । उनले कांग्रेस लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले सुनिश्चित गरेकाले संविधानको सार्थक कार्यान्वयन कांग्रेसको मुख्य एजेन्डा भएको बताए ।

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएकाले संविधानको रक्षाका लागि वर्तमान गठबन्धन र सरकार बनेको देउवाको भनाइ छ । उनले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएको र यसका गुण र दोष दुवै रहेकाले यस प्रणाली अन्तर्गत कुनै एक पार्टीले बहुमत ल्याउन असम्भव जस्तै रहेको बताए ।

आगामी निर्वाचनमा चुनाव अघि गठबन्धन गर्ने नगर्ने भन्ने कुरा त्यसैवेला निर्णय गर्ने भन्दै देउवाले आफ्नो पार्टी सङ्गठनात्मक रूपमा बलियो र जनताले भरोस र विश्वास गरेको पार्टी भएकाले जनताको भरोसा खण्डित गर्न दिन नहुने बताए ।

१४ औँ महाधिवेशनपछि कांग्रेसको महासमिति बैठक बसेको हो । पार्टीका नीतिगत दस्ताबेजमा छलफल गर्ने उद्देश्यले महासमिति बैठक बोलाइएको हो । जसमा विभिन्न दस्ताबेज पेस हुनेछन् ती दस्ताबेजहरूमा छलफल गरेर परिमार्जनसहित पास गरिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ०९ बजे