Logo

मुख्य समाचार

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र  : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका  छन् ।

सोमबार प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए ।

सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए

प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफै चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने उजले उल्लेख गरे ।

जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले कानुनको शासन, मानव अधिकारका मूल्य र मान्यता लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिनेमा जोड दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : ४५ बजे