विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।
विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट सयजना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाए ।
प्रदर्शनीको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए ।
महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरे ।
‘तपाईं विद्यार्थीहरु खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरुलाई सधैं साथ रहन्छ,’ मेयर कोइरालाले भने, ‘प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।’
हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सामुदायिक विद्यालयको स्तरवृद्धि गर्नुपर्नेमा जोड दिए ।
सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढे निजी विद्यालयलाई आपत्ति नहुने उनले बताए । ‘सामुदायिक विद्यालयमा भर्ना हुन नपाएका विद्यार्थीहरु मात्रै निजी विद्यालय र कलेजहरुमा आउँदा हुन्छ,’ पोखरेलले भने, ‘विदेशतिर सामुदायिक विद्यालयमा विद्यार्थी भरिएपछि मात्रै निजी विद्यालयमा भर्ना हुन आउँछन् । यहाँ पनि त्यस्तै होस् हामी निजी शैक्षिक संस्था सञ्चालकलाई आपत्ति छैन ।’
प्रदर्शनीमा प्रथमले १०, द्वितीयले ७, तृतीयले ५ र चौथो हुनेले ३ हजार पुरस्कारका साथमा शिल्ड, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार त्यसबाहेक सहभागी विद्यालयमध्येबाट उत्कृष्ट अनुकूलन, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण र उत्कृष्ट स्टल सजावट गरी चार विधामा पनि पुरस्कृत गरिनेछ ।
प्रतिक्रिया