Logo

मुख्य समाचार

प्रकृति संरक्षण मानवजातिको साझा चुनौती : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार राजधानीमा आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावरणीय चुनौतिहरूको शिखरमा उभिएको बताएका हुन् ।

प्रकृतिको अनुपम जैविक सृष्टिको रूपमा प्राणी तथा वनस्पति जगतलाई लिएको बताउँदै उनले यसले पृथ्वीलाई जीवन्तता प्रदान गरेको उल्लेख गरे ।

मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता र वन्यजन्तु संरक्षण प्रत्यक्ष रूपमा जोडिएको पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले वातावरणीय न्यायको सन्दर्भमा परिवर्तनशील अवस्थालाई मध्यनजर राखेर न्यायीक दृष्टिकोणको खाँचोमा केन्द्रित हुनु विद्धान वर्ग, सम्बन्धित सबै न्यायीक र तीन तहको सरकारका सबै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ५५ बजे