Logo

मुख्य समाचार

उत्सर्जनमा शून्य योगदान भएपनि नेपालमा जलवायु परिवर्तनको असमान प्रभाव : प्रधानमन्त्री


४ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन् ।

शुक्रबार जलवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताए ।

उनले विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा गम्भीर अवसर पार्ने भन्दै अति कम विकसित मुलुकहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेको बताए ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने योजनाहरू कार्यान्वयन गर्ने प्रयासमा गम्भीर वित्तीय र प्राविधिक खाडलहरू देखिएको भन्दै पारिस्थितिकी प्रणाली र जलवायु परिवर्तनसँग जनतालाई लचिलो बनाउन एवं स्थानीयस्तरमा जलवायु अनुकूलन गर्नेगरी योजना कार्यान्वयन गर्नका लागि थप स्रोतहरू जुटाउनुपर्ने आवश्यकता रहेको बताए ।

जलवायु न्यायको पक्षमा वकालत गर्न र पारिस्थितिकी प्रणाली, मानिस र पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका सांसदहरू र नीति निर्माताहरूबीच वार्ता गर्नुपर्ने पनि उनको भनाई छ ।

अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण्डले विकसित अर्थतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूलाई सहयोग गर्न आग्रहसमेत गरे ।

उनले स्वच्छ ऊर्जा सुरक्षित गर्न र ४५ प्रतिशत वनले ढाकेको जमिनलाई कायम राख्न नेपाल पूर्णरूपमा प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ४३ बजे