Logo

मुख्य समाचार

चुनावी खर्च बढ्दा महिलालाई सकस !


४ फाल्गुन २०८०, शुक्रबार  

69
Shares

पोखरा । २०४८ सालको निर्वाचनमा संसदमा ७ जना महिला सांसद थिए । ०७९ सम्म आइपुग्दा उक्त संख्या केवल ९ जना पुगेको छ । अर्थात् प्रजातन्त्र प्राप्तिका यो ३ दशकको बीचमा संसदमा केवल २ जना महिलाको संख्यामात्रै बढेको छ ।

यसले पनि नेपाली राजनीतिमा महिला उपस्थिति विकासको धीमा गतिको चित्रण प्रष्ट पार्छ ।

राजनीतिमा महिलाको संख्या कम हुनु सामाजिक, सांस्कृतिक पाटोमात्रै नभएर आर्थिक कारण पनि भएको पोखरामा पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा लोकतन्त्रमा महिला र चुनावी खर्च विषयक बहसका वक्ताहरुले बताएका छन् ।

समा थापाले सहजीकरण गरेको उक्त सत्रमा विद्या भट्टराई, मानुषी यमी भट्टराई, महालक्ष्मी उपाध्याय डिना र शोभा ज्ञवालीले चर्चा गरेका थिए । बहसमा गत निर्वाचनमा काठमाडौं ७ बाट पराजित भएकी मानुषी यमी भट्टराईले हारपछि राजनीतिमा अर्थको कतिको चलखेल हुने रहेछ भन्ने नजिकबाट अनुभव लिन पाएको दाबी गरिन् ।

६५ सालमा विद्यार्थी राजीतिमा चुनाव लडेकी थिएँ । त्यतिबेला यस्तो थिएन । मैले पढेको, अनुभवमा सुनेको भन्दा आफैंले प्रत्यक्ष भोग्दा निकै भयंकर रहेछ यो पैसाको प्रभाव, यमीले भनिन्, उम्मेदवार को हुन पाउने भन्ने विषयमा नै ठूलो चलखेल हुँदो रहेछ । गठबन्धनको उम्मेदवार हुँदै गर्दा पनि आर्थिक पक्ष ठूलो चुनौती छ ।

नआफूले चुनावअघि हिसाब गर्दा पनि त्यति ठूलो खर्च गर्नुनपर्ने हिसाब ननिस्किएको यमीको अनुभव छ । काठमाडौंजस्तो ठाउँ, मध्यवर्गीको बाहुल्य भएको ठाउँ । सामाजिक सञ्जालको प्रभाव राम्रो, शिक्षित भएको ठाउँ भनेको थिएँ, यमीले भनिन्, तर, रातारात आर्थिक हिसाबले माग गर्ने, आश गर्ने एकदम वृद्धि भयो ।

पोखरामा जारी ११ औं संस्करणमा भएको लोकतन्त्रमा महिला र खर्च विषयक सत्रमा यमीले निर्वाचनका बेला गर्नुपर्ने खर्चको सकस खुलाएकी हुन् । सत्र सहजकर्ता समा थापाले सोधेका प्रश्नको जवाफ दिँदै वक्ताहरुले बढ्दो चुनावी खर्चले महिलालाई खुला राजनीतिमा आउनमात्रै नभएर चुनावमा पनि लगाम लगाइरहेको बताए ।

सत्रकी वक्ता सांसद विद्या भट्टराईले आफूले भने निर्वाचनमा खर्च गर्नु नपरेको बताइन् । २ पटक प्रतिनिधि सभा निर्वाचन जितेकी उनले आफ्ना लागि पार्टीले नै सम्पूर्ण खर्च गरिदिएको दाबी गरिन् । मैले सुरुमै यो कुरामा मैले खर्च गर्न सक्दिनँ भनेर भनेकी थिएँ । त्यसपछि सबै खर्च पार्टीले नै गरिदिएको हो । आफू सम्मिलित भएर कुनै खर्च गरिनँ, उनले भनिन् ।

सांसद भट्टराईले सांसदको अधिकार, भूमिकाबारे मतदातालाई बुझाउन सकियो भने खर्च तथा अपेक्षामा पनि परिवर्तन आउने बताउँछिन् । राजनीतिमा महिला सहभागिता र समावेशिताका लागि समाजको दृष्टिकोण नै परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

हामीलाई धैर्यता भनेकै महिलाको हो भन्ने सिकाइयो, महिलाको परिचय हो भन्ने सिकाइयो । धैर्य देखाउँदा महिलाको क्यारेक्टर प्रर्दशन हुन्छ भन्ने बनाइयो, भट्टराईले भनिन्, नेतृत्व तह, निर्णायक तहमा महिला थोरै छन् भन्ने एउटा तर्क रहला । तर, राजनीतिलाई समावेशी लोकतन्त्रको कुरा गर्छौं भने पुरुष नेतृत्वले पनि सोच्नुपर्ने होला नि ?

नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना राजनीतिमा महिलाको उपस्थितिका विषयमा पार्टीमात्रै नभएर समाजकै दृष्टिकोण अनुदार रहेको बताउँछिन् । उनले निर्वाचनमा महिलाको उपस्थिति ३३ प्रतिशत बनाए पनि त्यसलाई समानुपातिकबाट ल्याउने अस्त्रका रुपमा मात्रै हेरिएको उनको भनाइ छ ।

समानुपातिकमा ५० प्रतिशत सुनिश्चितता खोज्यौं । तर, प्रत्यक्षमा महिलाहरुको सुनिश्चितता गरेनौं, उपाध्यायले भनिन्, त्यही कारणले पनि अहिले समानुपातिक महिलाका लागि मात्रै हो भन्ने भाष्य बन्यो । प्रत्यक्ष पुरुषका लागि भन्ने मानसिकता भयो ।

उपाध्यायले पछिल्लो समय चुनावी खर्च महंगो हुँदै गए पनि त्यो रकम वास्तविक मतदाता समक्ष नपुग्ने दाबी गरिन् । हिजो विचौलिया थिएनन्, अहिले बिचौलिया आए । विचौलिया पनि आन्तरिक रुपमै छन्, उनले भनिन्, त्यो मतदाताले च्या खुवा भनेका होइनन्, विचौलियाको संख्या बढेको हो ।

खर्च सीमाबारे विषयमा निर्वाचन आयोगले नै मापदण्ड बनाए पनि लागू हुन नसकेको उपाध्यायको भनाइ छ । पहिले अनावश्यक रुपमा हुने खर्च सीमा घटाए पनि अहिले झन् नगदमै कारोबार हुन थालेको दाबी उनको थियो ।

पहिले टोपी, टिसर्टलगायतमा बढी खर्च हुन्थ्यो । त्यसमा रोक लगाइसकेपछि अहिले क्यासमा चल्न थालेको छ, उनले भनिन् यस्तो कन्सल्टेन्सी जन्मियो कि बार्गेनिङ गरेर मतदातालाई भ्रममा पार्न थाले । उनीहरुले र्पैसा खाएर यो राम्रो, नराम्रो भन्ने प्रचारप्रसार हुने भयो ।

निर्वाचन आयोगले दिने २ दिनको मौन अवधिमा झनै आर्थिक चलखेल हुने भएकाले पूर्ण रुपमा बन्द गर्न उनको सुझाव थियो ।

महिलाहरु आफ्नो माग राख्न नसकेको भन्ने आरोपको भने उनले खण्डन गरिन् । ५ प्रतिशतदेखि महिलाको संख्या संसदमा एक तिहाइ पुगिसकेको उनको भनाइ थियो । उनले आजको उपलब्धी पनि महिलाको आवाजले नै प्राप्त भएको उनले बताइन् ।

यो हामीले बिना माग पाएको होइन । माग गर्न नसकेको, बोल्न नचाहेको भन्ने यो कुरा गलत हो, उनले भनिन्, तर, हामी सामाजिक सोंच, परम्परा, घरपरिवराको परिवन्धमा बाँधिएका छौं । त्यही सोचले महिला पछाडि परेको देखिन्छ ।

व्यवसायी शोभा ज्ञवालीले राजनीति र व्यवसाय समान दौडका घोडा भएकाले दुवैमा अर्थले फरक पारेको हुन सक्ने बताइन् । देशमा राजनीति राम्रो भयो भने निश्चय नै व्यवसाय राम्रो हुन्छ । व्यवसाय राम्रो भयो भने निश्चय नै राजनीति राम्रो हुन्छ, उनले भनिन् ।

पुरुषसत्तात्मक समाजले महिलालाई लगानी गर्नै नचाहँदा व्यवसाय तथा राजनीति दुवैमा महिलाको उपस्थित कम रहेको बताइन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ४० बजे