Logo

खेलकुद

नामिबियासंग ४ विकेटले नेपाल पराजित


३ फाल्गुन २०८०, बिहिबार  

115
Shares

काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नेपालले नामिबियासंग हार बेहोरेको छ ।

बिहिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा अलआउट हुँदै १३२ रन मात्रै जोड्न सकेको थियो ।

१३३ रनको विजयी लक्ष्य पच्छ्याएको नामिबियाले ३३.१ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिए । ललितले नामिबियाका दुबै ओपनर आउट गरेका थिए । कप्तान रोहीत पौडलले पनि एक विकेट लिए ।

ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए । यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरे ।

सोमपाल कामीले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ८ रन र जान फ्राइलिंकलाई ३४ रनमा आउट गरे ।

दुवैलाई सोमपालले २१औं ओभरमा क्याच आउट गराए । यस्तै सोमपालले जान ग्रिनलाई २ रनमा विकेटकिपर आसिफबाट क्याच गराए ।

यसअघि नामिबियाविरुद्ध नेपालको ब्याट चल्न सकेन । खराब सुरूवात गरेको नेपालले पहिलो बलमै विकेट गुमाएको थियो भने १० ओभरको पावरप्लेमा सुरुवाती चार विकेट गुमाउँदा २५ रन मात्र जोड्न सकेको थियो । सुरुवाती चार ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो दश ओभरमा नामिबियाका तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले उत्कृष्ट बलिङ गर्दै नेपाली ब्याटरलाई दबाबमा राखेका थिए ।

पहिलो बलमै कुशल भुर्तेललाई ट्रम्पलम्यानले स्लिपमा जेजे स्मिथबाट क्याच गराए । कुशल रोयल डक भएपछि ब्याटिङमा आएका अनिल साह पनि ८ रनमा आउट भए । तेस्रो ओभरमा अनिल पनि ट्रम्पलम्यानकै एलबिडब्लूको धरापमा परे । अनिलले ६ बलमा २ चौका हिर्काए ।

चौथो ओभरमा आसिफ शेख ४ रनमै आउट भए । आसिफलाई ज्याक ब्रासेलले जेजे स्मिथबाटै क्याच गराए । दशौं ओभरमा कप्तान रोहित पौडेललाई ब्रासेलले बोल्ड गरे । रोहितले १३ बल खेल्दा १ रन मात्र जोड्न सके ।

त्यसपछि नेपालले केही रन बढाए पनि नामिबियाका बलरले कसिलो बलिङ गरेका थिए । २० ओभरसम्म टिकेका कुशल मल्ल पाँचौ विकेटको रुपमा १५ रनमा आउट भए । २२ बलमा १ चौका र १ छक्का प्रहार गरेका कुशललाई नामिबियाका जेराल्ड इरासमसले क्याच गराएका थिए । दुई ओभरपछि सोमपाल कामी २ रनमा इरामसकै बलमा क्याच भए ।

६ विकेट जादासम्म मैदानमा टिकेका भीम सार्कीले जोडेको ४४ रन नेपालका लागि महत्वपूर्ण सावित भयो । ८६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भीमलाई ट्रम्पलम्यानले नै एलबिडब्लूको धरापमा परेका थिए ।

गुल्सन झा पनि धेरै बेर मैदानमा टिक्न सकेनन् । उनी ३२औं ओभरमा २१ रन बनाएर खेलिरहदा इरासमसबाट बोल्ड भएका थिए ।

पवन सर्राफ १२ रनमा जान निकोलको बलमा इरासमसबाट क्याच भएपछि नेपालको आसा सकिएको थियो । करण केसीले अन्तिम विकेट रुपमा आउट हुनुअघि १६ रन जोडे ।

बलिङमा नामिबियाका इरासमसले ५ विकेट लिए ।

उनले ८।१ ओभरमा २८ रन मात्र दिए । ट्रम्पलम्यान र ब्रासेलले २–२ विकेट लिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ३ : २० बजे