Logo

खेलकुद

छैटौं बागमती गोल्डकपमा मच्छिन्द्र क्लबको विजयी सुरुवात


१ फाल्गुन २०८०, मंगलबार  

92
Shares

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारबाट सुरु छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ ।

बागमती गाउँपालिकाको फापरबारीस्थित जनता माविको मैदानमा भएको उद्घाटन खेलमा मच्छिन्द्रले राइटलेन बागमती क्लब सर्लाहीलाई ५-२ गोल अन्तरले हराएको हो । 

मच्छिन्द्रले खेलको पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्‍यो । बागमतीले खेलको दोस्रो हाफमा २ सान्त्वना गोल गरेको थियो । मच्छिन्द्रका विमल घर्ती मगरले खेलको म्यान अफ दी म्याच घोषित हुँदै १० हजार हात पारे । प्रतियोगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिति र हिमालयन शेर्पा क्लब बीच खेल हुनेछ । 

खेलकुद विकास समिति बागमतीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन र तीन मोफसलका गरी १० टिमको सहभागिता रहने समिति अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए । 

जावलाखेल युथ क्लव ललितपुर, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, नव जनजागृति क्लव सिमरा बारा, एनआरटी फुटबल क्लव काठमाडौँ समूह ‘क’ मा छन् । यस्तै नेपाल आर्मीको त्रिभुवन क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब काठमाडौं, आयोजक बागमती खेलकुद विकास समिति, सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड क्लव काठमाडौं समूह ‘ख’ मा छन् ।

फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएका छन् ।  पाँचौं संस्करणको उपाधि विजेता भुट्निज युथ स्पोर्ट्स क्लवले भने यसपटक सहभागिता जनाएको छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ५९ बजे