Logo

कोशी

प्याब्सन स्पोर्ट्स : पूर्वाञ्चल र सगरमाथालाई उपाधि



विराटनगर ।  १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेका छन् ।

प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो ।

जुनियरतर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)  मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा जुनियरतर्फ तीन स्वर्ण, चार रजतसहित ३० अंक ल्याएर सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल द्वितीय र सगरमाथा स्कुल तृतीय भए ।

यस्तै, विराटनगरको एभरेष्ट स्कुलले तीन स्वर्ण, ३ कास्य पदकसहित २१ अंक ल्याएर चौथो भएको छ ।

सिनियरतर्फको द्धितीय १५ अंक ल्याएर बिकेभिएम स्कुल र १३ अंक ल्याएर तेस्रो पथरीको एभरेष्ट स्कुल भएको छ ।

प्रतियोगिताको छात्रातर्फको उत्कृष्ट खेलाडी पूर्वाञ्चल एकेडेमीकी सृजना बिक घोषित भइन् । उनले खेलभरीमा पाँचवटा स्वर्ण पदक जितेकी थिइन् ।

छात्रतर्फको उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुलका सुवोध चौधरी घोषित भए । उनले दुई स्वर्ण र एक रजत पदक जितेका थिए ।

विराटनगरको बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको छ । एभरेष्ट स्कुललाई ५७–३५ सोझो सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो । बास्केटबलको तेस्रो  विराटनगरको सगरमाथा स्कुल भयो । सगरमाथाले सेन्टजोसेफ स्कुललाई ४८–१४ सेटले हरायो । खेलको उत्कृष्ट खेलाडी बिकेभिएमका गुणनन्द यादव घोषित भए ।

भलिबलको जुनियर र सिनियर गरी चार स्कुलले उपाधि जितेका छन् । जुनियरतर्फको छात्रातर्फको प्रथम बुढीगंगाको मोरङ पब्लिक स्कुल र जुनियर छात्रतर्फ विराटनगरको मोर्डन एरो स्कुलले जितेको छ ।

यसैगरी, सिनियरतर्फ छात्रमा विराटनगरको कान्तिपुर कलेजले र छात्रातर्फ पथरीको एभरेष्ट स्कुल प्रथम भएको छ ।

मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैँचा मोडल स्कुलले फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सनरेले जुनियरतर्फ र हरैचा मोडलले सिनियरबाट फुटबलको उपाधि जितेको हो ।

फाइनलमा सुन्दरहरैचाको सिद्धार्थ स्कुललाई २–० गोलले हराउँदै सनरेले फुटबलको उपाधि हात पारेको छ । जितको लागि सनरेको तर्फबाट जिवन यादव र अनुज खवासले गोल गरे ।

सिनियरमा टाइब्रकेरमा सेन्टजोसेफ स्कुललाई ५–४ गोलले हराउँदै हरैचा मोडलले फुटबलको उपाधि जितेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफोना टाइब्रेकरबाट भएको थियो ।

जुनियरतर्फको बेस्ट गोलकिपर सनरेका इशान्त धिमाल, बेस्ट डिफेन्टर साहिल थारु, बेस्ट मिड फिल्डर जिवन यादव, बेस्ट फरवार्ड सिद्धार्थ स्कुलका प्रशान्त न्यौपाने भए । म्यान अफ द म्याच सनरे स्कुलका अनोज खवास र बेस्ट कोचमा सनरे स्कुलका प्रशान्त खवास घोषित भए ।

माघ २६ देखि २८ गतेसम्म संचालन भएको प्याब्सन स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिएको अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए ।

बिजेता हुने विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका निर्देशक नरेन्द्र ढकाल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका निर्वतमान अध्यक्ष सीतला सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : ४१ बजे