Logo

मुख्य समाचार

चीनसँगका व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गराउँछौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा सबैभन्दा धेरै प्राथमिकता नेपाल चिनबिचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने रहेको बताएका छन् । उनले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकालमा दुईदेशबिचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्नमा प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री दाहालले गत असोजमा सम्पन्न चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, त्यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारकातर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिँदै थप कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्धन व्यवस्थित गर्नुपर्नेमा आफू सचेत रहेको बताए ।

उनले आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीनको संयुक्त प्रयासबाट सीमा क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको उल्लेख गरे । नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल गरेको बताएका उनले यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्ने धारणा राखे ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १२ : ३३ बजे