Logo

खेलकुद

एनआरटी र एपीएफ आज मकवानपुर गोल्डकपको उपाधिका प्रतिस्पर्धा गर्दै



मकवानपुर । छैठौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८०(मकवानपुर गोल्डकप फुटबल) प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्युरोड टिम (एनआरटी) र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो १ बजे हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन गरिएको खेलमा बुधबार पहिलो सेमिफाइनलमा धनकुटाको राजारानी क्लबलाई टाइबे्रकरमा १७–१६ गोल अन्तरले हराउँदै एनआरटी फाइनलमा प्रवेश गरेको थियो । यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती क्लबलाई ४–० गोलले हराउँदै एपीएफले फाइनलमा स्थान पक्का गर्यो ।

एनआरटीका टिम कोच जीवन सिंहले निकै प्रतिस्पर्धात्मक अवस्थामा पनि जित निकालेको भन्दै खेलाडीहरुले उपाधि प्रतिस्पर्धामा राम्रो प्रदर्शनी गर्ने बताए ।

पहिलो खेलबाटै खेलाडीहरुले राम्रो प्रर्दशन गरिरहेको उल्लेख गर्दै आजको फाइन खेलमा पनि खेलाडीहरु परिवर्तन नगर्ने बताए ।

सेमिफाइन खेलमा भएको रोमाञ्चक प्रतिस्पर्धाबाट आफूहरुले नयाँ अनुभव बटुलेको सिंहको भनाई छ ।

यस्तै, एपीएफका टिमकोच सुमन श्रेष्ठले आफ्नो टोलीले छोटो समयमा प्रतियोगितामा सहभागी भएर फाइनमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीहरुलाई राम्ररी प्रशिक्षण दिन नपाएको बताएका उनले फाइनलमा पनि उपाधि जित्ने गररुी प्रतिस्पर्धा गर्ने बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुलाई २५–२५ हजार रुपैयाँले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ४७ बजे