Logo

मनोरञ्जन

स्पोर्टस अवार्डका लागि सह–प्रायोजनमा प्लाजा होटल्सको निरन्तरता



काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९’ को २० औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल्स गु्रपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स गु्रपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पल्सर स्पोर्टस अवार्ड यही माघ २८ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजना हुनेछ ।

स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा वर्ष प्रशिक्षक विधा पहिलो चरणमा ८–८ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।

पिपल्स च्वाइस विधामा भने पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । पब्लिकको मतका आधारमा चुनिने यस विधाको मनोनयनमा रजनी श्रेष्ठ (बडीविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) रहेका छन् । मनोनयनमा परेका खेलाडीका लागि ई–सेवाबाट भोटिङ भइरहेको मंचका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेज ‘पल्सर नेपाल’बाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक २७ राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन् ।

सह–प्रायोजक बनेवापत प्लाजा होटल्स गु्रपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने र खानपानको प्रबन्ध गर्नेछ । 

सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्लाजा होटल गु्रपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा गु्रपका प्रवन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  २ : २४ बजे