Logo

अर्थ

मौद्रिक नीति खुकुलो बनाउन उद्योगी व्यवसायीको राष्ट्र बैंकलाई आग्रह



काठमाडौं । उद्योगी व्यवसायीले शोधानान्तर स्थिति र चालु खाता दुवै उच्च भएको उल्लेख गर्दै मौद्रिक नीति खुकुलो बनाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

हाल शोधानान्तर स्थिति र चालु खाता राम्रो हुँदा अर्थतन्त्रको बाह्य अवस्था बलियो बन्दै गएको र बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो पूँजी थु्रप्रियको बताएका उद्योगी व्यवसायीहरुले निजी क्षेत्रसँगै आम मानिसमा सकारात्मक सन्देश जाने गरी अर्धवार्षिक मौद्रिक नीतिमा राष्ट्र बैंकले समीक्षा गर्नुपर्नेमा जोड दिए ।

बुधबार इकोनोमिक मिडिया एशोसियसन नेपालको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा वाह्य क्षेत्र थप बलियो बन्दै गएको भन्दै अब राष्ट्र बैंकले मौदिक नीति खुकुलो बनाउनुपर्ने बताए ।

संगै कार्यक्रममा रहेका राष्ट्र बैंकका कार्यकारी निदेशक गुरुप्रसाद पौडेललाई अग्रवालले भने, ‘कछुवाको तालले सुधारका गतिविधि गरेर हुँदैन अब द्रुत गतिले लिबरल मौद्रिक नीति अपनाउनु पर्यो ।’

राष्ट्र बैंकले मंगलबार जारी गरेको तत्यांकमा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब,५२ करोड र  विदेशी मुद्रा सञ्चिति दर १८ खर्ब १६ अर्ब नाघेको उल्लेख छ ।

यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि मौद्रिक नीतिबारे समीक्षा गरिनुपर्ने बताए । उनले अर्धवार्षिक रुपमा मौद्रिक नीति सकारात्मक वातावरण बन्ने गरी आउने अपेक्षा व्यक्त गरे ।

ढकालले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा कानूनी बाधा अड्चन फुकाउन सरकारले बाह्र ओटा कानूनलाई अध्यादेश मार्फत भएपनि संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

ढकालले लगानी सम्मेलनको लागि विभिन्न कानूनी अड्चन देखिएकोले सम्मेलन अगावै सरकारले सम्भव भए विधेयकमार्फत नत्र अध्यादेशमार्फत भए पनि सम्बोधन गर्न सके त्यसले राम्रो सन्देश प्रवाह हुने बताए ।

उनले सरकारले नीजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन खोजिरहेको बेला समयमै समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने जनमानसमा परेको दुविधा हटाउनपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले राष्ट्र बैंकले उक्त भ्रमलाई चिर्ने प्रयास गरेको जानकारी दिए ।

पौडेलले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र सूचकको हिसाबले अहिले एकदम सबल भएको बताए । उनले आन्तरिक क्षेत्र पनि चलायमान र गतिशिल बन्दै जाने अवस्थामा रहेको उल्लेख गरे ।

उनले बैंक तथा वित्तीय क्षेत्र,लघुवित्त संघसस्थालगायतका संस्थाहरुबाट प्रवाह हुने कर्जालाई उत्पादनसिल क्षेत्रमा लगाउनुपर्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ३२ बजे