Logo

अर्थ

अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् । उनले बिगतका सरकारहरूले अर्थतन्त्रको अवस्था बिपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गरे ।

बुधबार इकोनोमिक मिडियो एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको बताए ।

अर्थमन्त्री महतले डबल हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए । परिस्थितिको राम्रो आंकलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो ।

उनले अहिले ऋण लिएको रकम माफी मिनाहा गर्न सक्ने गरी सरकारको अवस्था नरहेको बताए । ‘ऋण लिएपछि जसरी पनि तिर्नु नै पर्छ । खाएपछि तिर्नैपर्छ । यस्तो भ्रममा नपर्नुहोला,’ उनले भने, ‘कसै–कसैले तपाईलाई ठग्न पनि सक्छन् । अहिले ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु । तर त्यो सम्भावना छैन ।’

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : १४ बजे