Logo

राजनीति

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्ने



काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बुधबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी प्रधानमन्त्री दाहालले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा मुख्यमन्त्रीहरू तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुने छन् । बैठकमा संघीयता कार्यान्वयनका लागि संघ,प्रदेश र स्थानीय तहमा देखिएका समस्याबारे छलफल हुने बताइएको छ ।

परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो। उक्त बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा कार्यविस्तृतिकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा ६ महिनाभित्र स्पष्टता ल्याउने निर्णय गरेको थियो ।

यस्तै दोहोरो–तेहरो अनुदान बन्द गर्ने, दोहोरो संरचना खारेज गर्ने, आयोजनामा पनि दोहोरोपना हटाउने, कानुन निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता गराउने, एकीकृत अभिलेख प्रणालीको विकास गर्ने र जग्गा प्राप्तिलाई सहज बनाइनेलगायतका विभिन्न ६ निणर्य पहिलो बैठकले गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ८ : २९ बजे