Logo

राजनीति

‘गोप्य निर्णयको अभ्यासले जनता र सदनबीच दुरी बढ्यो’



काठमाडौं । पूर्वसभामुख ओनसरी घर्ती मगरले जनता र संसदहरुबीच खाडल बन्दै गएको बताएकी छन् । अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राजधानीमा मंगलबार भएको गोष्ठीमा उनले संसदमा अपारदर्शी वा गोप्यरुपमा निर्णयहरु हुने अभ्यास भइरहेको भन्दै यसले जनता र सदनबीच दूरी बढाउदै गएको बताइन् ।

उनले भनिन्, ‘संसद बढीभन्दा बढी नीति निर्माण गर्ने तह भएको हुनाले यसलाई प्राथमिकता दिनुपर्छ । किनभने त्यहाँ जनताको प्रतिनिधित्व हुन्छ । तर, जनता र संसदहरुबीच खाडल बन्दै गएको जस्तो देखिन्छ । हाम्रो संसदमा जुन अभ्यास भइरहेको छ, सरकार र अन्य निकायले के गर्छ भन्ने कुरा जनतासँग लुकाउनुपर्ने किन हुन्छ ? यो जनताको शासन चलेको देश हो । किन अपारदर्शी तरिकाले वा गोप्यरूपमा निर्णयहरु हुने काम किन गर्ने ?’

सदनमा युवाहरुको नयाँ रचनात्मक विचारहरु आउनुपर्ने भन्दै उनले संसदमा सुधार गर्नुपर्ने र कानुन बनाउने धेरै काम रहेको बताइन् । व्यवस्था सही छनोट गरेको भन्दै यसमा आवश्यक वैचारिक बहस र छलफल केन्द्रीत नगर्दा विभिन्न प्रकारका विकृतिहरु आएको उनको भनाइ छ ।

उनले भनिन्, ‘हामीले व्यवस्था सही छनोट गरेका छौं र यो व्यवस्था सही छ । यसको कार्यान्वयनमा हामीले उपयुक्त, आवश्यक वैचारिक बहस र छलफल केन्द्रीत नगर्दा विभिन्न प्रकारका विकृतिहरु पनि जन्मिएका छन् । जसका कारण प्रभावकारी कार्यान्वयन हुन सकेन, अब त्यसका लागि यस्ता बहस गर्न जरुरी छ । यसको साथै हामीले गर्दै आएको कार्य प्रणालीहरुमा पुनर्विचार पनि गर्नुपर्छ ।’

गणतान्त्रिक शासन व्यवस्थानमा भइरहेका अभ्यासका लागि बाधक भएका विषयमा राजनीतिकर्मी गम्भीर हुनुपर्ने उनले सुझाइन । ‘हामीले व्यवस्था बदलियौ तर जनताको अवस्था किन परिवर्तन हुन सकेन भन्ने प्रश्न उठिरहेको छ । यसको सही निष्कर्ष के हुन सक्छ र यसको सही जवाफ के हुन सक्छ भन्ने खोजीलाई केन्द्रविन्दुमा राखेर यो बहस चलिरहेको छ,’ उनले भनिन् ।

संविधानमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय जस्ता आधारहरु निर्धारणसँगै कार्यान्वयन भएको उनले बताइन । यसबारे असन्तुष्टलाई बुझाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : ३८ बजे