Logo

मुख्य समाचार

टीआरसी विधेयक यही अधिवेशनबाट पास गराउने माओवादीको तयारी  



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यही अधिवेशनमार्फत सहमतिमा पास गराउने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको संसदीय दलको बैठकमा दाहालले यही अधिवेशनबाट टीआरसी विधेयक सहमतिमै पारित गराउने बताए । उनले आफ्ना सांसदहरुलाई विधेयक पारित गराउने गरी भूमिक खेल्न भनेका छन् ।

साथै उनले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन पनि दिएका छन् ।

‘तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,’ प्रधानमन्त्रीले थपे ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस्’,दाहाल सचिवालयले जनाएको छ ।

दलको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले टिआरसी अहिले सरकार र माओवादीको सबैभन्दा प्राथमिकतामा रहेको विधेयक भएकाले यही अधिवेशनबाट पारित गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा आगामी आर्थिक वर्षमा परिणाम निस्कनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने उल्लेख गरे ।

उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै संघीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको भन्दै थपे, ‘यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।’

नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको भन्दै पार्टीका नेताहरुसँग सांसद एवम जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेटमा समावेश गराउन सुझाव मागे ।

सचेतक पाण्डेले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरुलाई व्यवस्थित गर्ने, सदनमा लाने र छलफल गर्नेबारे सांसदलाई निर्देशन दिएको पनि जानकारी दिए । सोमबार ऐजेण्डाहरु मात्रै प्रस्तुत भएको र निर्णयका लागि फेरि भोलि माघ २३ गते ९ बजे बैठक बस्ने उनले जानकारी गराए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : १० बजे