Logo

मुख्य समाचार

इजरायलका राजदुत र अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरले बिहीबार शिष्टाचार भेट गरेका छन् । राजदुत गोल्डबर्गरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मुलमन्त्र बोकेको नेपालले बिश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस भन्ने चाहन्छ भने ।

‘शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ,’ उनको भनाइ थियो । हालै इजरालयमा भएको हमासको आक्रमणमा परि अहिलेसम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाईका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरे ।

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गरे ।

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमि आएकोमा पुनः यो संख्या अझै बढ्ने बिश्वास उनको थियो ।  इजरायलका राजदुत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्दति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रसंशा गरे ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  २ : ४५ बजे