Logo

मुख्य समाचार

‘रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज गरौं’



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्नुपर्ने दोहोर्याएकी छिन् ।

उनले रेडियो र टिभी लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रुपमा संचालन गर्नुपर्ने पनि बताइन् ।

सिंहदरबारमा मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमलाई कुनै राजनीतिक दलको भजन गाउने भाँडो नबनाउन सुझाव दिइन् । उनले सञ्चारमाध्यम सरकार र जनतालाई जोड्ने माध्यम बन्नुपर्ने बताइन् ।

मन्त्री शर्माले राष्ट्रिय आमसञ्चार नीतिमा राष्ट्रिय प्रसारण सेवा रुपान्तरण गरि लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी रुपमा सन्चालन गरिने व्यवस्था रहेको उल्लेख गर्दै यसलाई पनि अहिलेको आवश्यकता र उद्देश्यका आधामा आवश्यक परिमार्जन गर्न आवश्यक रहेको बताइन् ।

मन्त्री शर्माले माघ २२ लाई संसदको अधिवेशन आह्वान भइसकेको स्मरण गराउँदै समितिमा दफादार छलफलकै क्रममा रहेका विधेयकहरु छलफल सकेर संसदमा प्रतिवेदन पेस गर्न आग्रह गरिन् । मन्त्री शर्माले यसअघि पनि नेपाल टेलिभिजन र रेडियो नेपाललाई मर्ज गर्नुपर्ने आवाज उठाउँदै आएकी छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : ०८ बजे