Logo

समाचार

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीहरूलाई राहदानी बनाइदिने भन्दै ३४ हजार घुस लिएको अभियोगमा आयोगले मुद्दा दायर गरेकाे हाे।

करारमा कार्यरत भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ अनुसार ३४ हजार बिगो जरिवाना कैद सजायको मागदावी गरेको छ ।

आयोगले घुस लिने/दिने कार्यमा संलग्न रहेको भन्दै सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध समेत विशेष अदालतमा मुद्दा चलाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ३ : २८ बजे