Logo

मुख्य समाचार

‘१७ हजारको हत्यारा भन्नेहरूलाई प्रतिवाद नगर्ने ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२÷६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् ।

हिजो (शनिबार) पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरुको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरुले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे ।

गत मंसिर २३ गते कोरिया भाषा परीक्षा (ईपिएस) मा सहभागी गराउन माग गर्दै भएको प्रदर्शनमा दुई युवकको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

त्यसकै भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ‘१७ हजार प्लस दुई बराबर कति?’ लेखिएको ब्यानर बोक्दै प्रदर्शन गरेकी थिइन् ।

दाहालले माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौं भनेर प्रतिवाद गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै, उनले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने घोषणा गरे ।

सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्न मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने काम प्रक्रियामा रहेको बताए ।

जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई सहिद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत उनले दिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ४१ बजे