Logo

मुख्य समाचार

जाजरकोट भूकम्पमा अभिभावकविहीन ३० बालबालिका मामाघर आश्रममा



काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा अभिभावक गुमाएका ३० बालबालिकालाई ललितपुरको मामाघर अनाथालय सपोर्ट एन्ड केयरमा ल्याइएको छ ।

जाजरकोटको कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाको सिफारिसमा बिहीबार ललितपुरको बाडेगाउँस्थित अनाथालयले उनीहरुको जिम्मा लिएको हो ।

उनीहरुलाई ललितपुर ल्याउने व्यवस्था बालयोगेश्वर विजयमूर्ति महाराजले मिलाएका हुन् । चार जनाको समूहमा करिब १० दिनको कठिन यात्रापछि प्रक्रिया पुरा गर्दै ३० जना बालबालिकाको लालनपालनको जिम्मा अनाथालयलाई लगाएको जानकारी उनले दिए ।

आश्रममा कुशे गाउँपालिकाको सिफारिसमा १७ र बारेकोट गाउँपालिकाको सिफारिसमा १३ जना बालबालिका ल्याइएको हो । यसमा २० बालक र १० जना बालिका छन् । यिनमा अधिकांश बालबालिका दलित समुदायका छन् । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भइ आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि १५७ जनाको मृत्यु भएको थियो भने ३७५ जना घाइते भएका थिए ।

घटनामा जाजरकोट र रुकुम पश्चिममा घरहरुमा क्षति पुगेको थियो । भूकम्पले घरबारविहीन भएका परिवारमा ज्वरो, झाडापखाला र चिसोले थप ३४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ५१ बजे