Logo

अर्थ

११ करोडको सुन्तला बिक्री



वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायत गाउँ सुन्तला उत्पादनका लागि परिचित छन् ।

भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट ११ करोडभन्दा बढी भित्रिएको बताए ।

स्थानीय व्यापारी तथा काठमाडौंबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् । कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्यांकी, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए । नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप पाँचदेखि ६ करोड बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने दाबी उनको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ०६ बजे